अल्जेरियाका प्रधानमन्त्री कोभिड संक्रमित
अल्जेर्स । अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोभिडबाट संक्रमित हुनुभएको छ ।
स्वाब परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका हुन् ।
संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थाल्नु भएको छ । उहाँले कोभिड सम्वन्धी मापदण्डहरुको पालना पनि गर्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । घर भित्र छुट्टै बसेपनि उहाँले कतिपय काम भने गर्नुभएको सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उहाँलाई संक्रमण पुष्टि भएपनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ । उहाँलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।
बेनाब्डेराहमन यही जुन ३० तारिखमा अल्जेरियाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अल्जेरियामा पछिल्ला केहीदिन देखि कोभिडको संक्रमण अत्यधिक बृद्धि भएको छ ।
अहिले दैनिक झण्डै दुई सय जनाको दरले संक्रमितहरुको सङ्ख्या बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
– रासस