५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएकाे प्रष्ट भयो – प्रदीप ज्ञवाली

प्रकाशित मिति :  ३ श्रावण २०७८, आईतवार ०८:५७


काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रवक्ता प्रदीप ज्ञवालीले नेता माधवकुमार नेपाल बेग्लै कोर्समा हिँड्न चाहेको बताउनु भएकाे छ ।

आइतबार बसेकाे स्थायी कमिटी बैठकमा उपस्थित नभएसँगै नेता नेपाल बेग्लै काेर्समा हिँड्न चाहेकाे प्रष्ट भएकाे ज्ञवालीकाे भनाइ छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भन्नुभयाे शेरबहादुर देउवालाई नेता नेपालले विश्वासको मत दिने बताएसँगै उहाँ (नेपाल) बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको बताउनुभयाे ।

उहाँका अनुसार एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदल सदस्य ज्ञवालीसहितका  नेताहरुले आइतबार विहान नेता नेपाललाई भेट्नुभएकाे थियाे । भेटमा विश्वासको मत लिने  प्रधानमन्त्री शेरबहादुर देउवाको तयारीबारे छलफल भएको थियो । त्यसक्रममा नेता नेपालले देउवालाई आफूले विश्वासकाे मत दिने बताउनुभएकाे थियाे ।

‘आज पूर्व प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थियौं, उहाँले एक्लैले भएपनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो, उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनु भएका साथीहरुले त्यो उचित नहुने र जे कुरा गर्दा पनि संस्थागत निर्णयबाट गर्न पर्ने कुरा राख्नुभयो, तर उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसिकिने बताउनुभयो, त्यसको तात्पर्य उहाँले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन भन्ने देखियो, माधव कमरेड बेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट भयाे ।’

देउवालाई विश्वासकाे मत दिनबाट राेक्न माधव पक्षका नेताहरुले प्रयास गरिरहनुभएकाे बताउँदै ज्ञवालीले भन्नुभयाे – ‘ उहाँको टिममा रहेका साथीहरुले पनि प्रयत्न गरिरहनुभएको छ । हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने, तर १० बुँदे सहमतिपछि अब संस्थागत निर्णय हुनुपर्छ भनेका छौं, कार्यदलतहमा देउवालाई विश्वासको मत दिन दिने विषयमा हाम्रो सहमति भएको हाेइन यो कुरामा जान सकिँदैन भनेर साथीहरुले भन्नुभयो ।’ कुनै परिणाम आए बेग्लै कुरा भएपनि माेटामाेटी रुपमा माधव नेपाल एउटा निष्कर्षमा पुग्नुभएको आफूहरुकाे बुझाइ रहेकाे ज्ञवालीले बताउनुभयाे ।

पार्टी निर्णय भन्दा बाहिर गएर देउवाको पक्षमा विश्वासको मत दिनेहरु अब एमालेमा नरहने प्रष्ट पार्दै ज्ञवालीले भन्नुभयाे – ‘नेकपा एमालेको संस्थागत निर्णय बाहिर रहेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न ।’ बैठकले सरकारविरुद्ध विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेकाे समेत उहाँले बताउनुभयाे । पार्टीभित्रकाे परिस्थितिबारे थप निर्णय हुने पनि ज्ञवालीले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !