५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब एमालेमा बस्न सकिँदैन – माधव नेपाल

प्रकाशित मिति :  ७ श्रावण २०७८, बिहीबार ०८:३०


काठमाडौं । माधवकुमार नेपालले अब नेकपा एमालेमा बस्न नसकिने बताउनु भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा नेता नेपालले आफूलाई एमालेले अपमान गरेकाे बताउनुभयाे । अपमान र कुकर्म सहेर अब एमाले (घर) मा बस्न नसकिने नेपालले बताउनुभयाे ।

एमालेमा बस्न आफूहरु पर्ख र हेर स्थितिमा रहेकाे माधवले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘एमाले अघि बढ्छ कि बढ्दैन पर्खेका छाैं, सुध्रिन्छ भने एकता भएर अघि बढ्छ साेच्न सकिन्छ, एमाले हामीले बनाएका हौं, आफैंले बनाएको घरमा अरुको अपमान सहेर बसिँदैन, कुकर्म सहेर घरमा बस्नु पनि हुँदैन ।’

आफू पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति भएकाे दाबी पनि माधवले गर्नुभयाे ।  पुष्पलालपथमा अंगिकार गर्नेले कहिल्यै निरंकुशता नसहने भन्दै उहाँले अहिले एमालेमा निरंकुशता लाद्‍न खोजिएको आराेप लगाउनुभयाे । कम्युनिष्ट पार्टी बिग्रिन नदिन नेता अहंकारी र स्वेच्छाचारी भए कि भनेर जाँच्नुपर्ने समेत नेपालले बताउनुभयाे ।

अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले आफूहरुलाई केही फरक नपर्ने माधवकाे भनाइ छ । ‘कहिले स्याल हुइयाँ, कहिले बराण्डमा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,यस्तो प्रवृत्ति कम्युनिष्ट चरित्र होइन’- माधवले भन्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !