५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दार्चुला घटनाकाे विराेधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार ०७:३२


काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज देशव्यापी विरोध प्रदर्शन गर्ने भएकाे छ ।

भारतीय सुरक्षा बल (एसएसबी) ले तुइन काटीदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको विरोधमा नेकपाले आज दिउँसो ३ बजे देशभर विराेध प्रदर्शन गर्न लागेकाे हाे ।

आज दिउँसो ३ बजे देशव्यापी प्रदर्शन र १८ गते देशभर विरोध सभा गर्ने पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा एसएसबीले शुक्रबार तुइन काटीदिँदा ३५ वर्षीय जयसिंह धामी महाकाली बेपत्ता भएका छन् । साे घटनालाई पार्टीले गम्भीर रुपमा लिएकाे विज्ञप्तिमा उल्लेख छ ।

साे घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्द्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय रहेकाे नेकपाकाे ठहर छ ।

घटनाको तदारुकता साथ छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसँग नेकपाले माग गरेकाे छ । सीमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताविरुद्ध विगतमा गराइएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गीदै आएको उल्लेख गर्दै नेकपाले जयसिंह धामीको घटना पनि त्यसैको उपज भएकाे उल्लेख गरेकाे छ ।

‘तुइन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाकाविरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ’- विज्ञप्तिमा लेखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !