५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटनकाे दाेष केपी ओलीलाई मात्र दिन मिल्दैन – नारायणकाजी श्रेष्ठ

प्रकाशित मिति :  २० श्रावण २०७८, बुधबार १२:०८


काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले  प्रतिनिधि सभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्रै दोष नभएको बताउनु भएकाे छ ।

बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै माओवादी केन्द्रका सांसद् नारायणकाजीले अरु दल र यसभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउने नेताहरु पनि साे प्रकरणमा जिम्मेवार रहेको बताउनुभयाे । ‘प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चाल्ने ओली हो, तर यो मुलुकमा दुरावस्था ल्याउनमा सबै राजनीतिक पार्टीहरू, नेताहरु, यो भन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म सबैजना जिम्मेवार थिए, त्यो कुरा आज निर्मम आत्मसमीक्षा गर्नुपर्छ ।’

गठबन्धन सरकारले गलत प्रवृत्ति र सोचबाट आफूलाई अलग्गै राख्नुपर्ने नारायणकाजीले बताउनुभयाे । कोभिड विरुद्धकाे खोप ल्याउन, बाढीपहिरो पीडितको व्यवस्थापन, राहतकाे प्याकेज ल्याउन, मावेशीता र सुशासनको पक्षमा काम गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । वर्तमान सरकारले संघीयताकाे सवलीकरण, समावेशीकरण लागू गर्न, सामाजिक भेदभाव अन्त्य गर्न ध्यान दिनुपर्ने बताउनुभयाे ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने श्रेष्ठकाे भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामीले ज्यान गुमाउनु परेको भन्दै उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयाे । श्रेष्ठले साे घटनामा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पनि बताउनुभयाे । ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले अबिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्छ’-उहाँले भन्नुभयाे ।

श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयाे । घटनाबारे चाँडाे  प्रतिवेदन ल्याएर भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न माग पनि श्रेष्ठले माग गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !