३० कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रहेनन् वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. ऋषिराम कोइराला

प्रकाशित मिति :  १ भाद्र २०७८, मंगलवार १०:२९


काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ ।

लामो समयदेखि मुटुको समस्या झेल्दै आउनुभएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ६२ वर्षीय डा. कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्व. कोइरालाका आफन्त मधुविलास पौडेलले जानकारी दिनुभयो । उहाँलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो ।

०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मनुभएका कोइराला काठमाडौंको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालकसमेत हुनुहुन्थ्यो ।

नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका कोइरालाको काठमाडौं महानगरपालिका–२६ लैनचौरमा प्रभु ऋषि आयुर्वेदसमेत सञ्चालनमा ल्याउनुभएको थियो ।

काठमाडौंको रानीवनमा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने तयारीमा रहनुभएका स्व. कोइरालाले अमेरिका र युरोप पुगेर नेपालमा आयुर्वेद चिकित्सा क्षेत्रका सम्भावनाका बारेमा प्रवचन दिनुका साथै विरामीको स्वास्थ्य परीक्षण गर्दै आउनुभएको थियो । उहाँ क्लासिकल हर्बल प्रोडक्ट प्रालिका अध्यक्ष हुनुहुन्थ्यो ।

लमजुङको दुराडाँडास्थित सर्वोदय उच्च माध्यमिक विद्यालयमा कक्षा ६ सम्मको अध्ययन गर्नुभएका स्व कोइरालापछि नवलपरासी बसाइँसराइ गर्नुभएको थियो । हाल काठमाडौंको धापासीमा बस्दै आउनुभएका स्व. कोइरालाका श्रीमती, दुई छोरा र एक नाति हुनुहुन्छ ।

उहाँका दुवै छोरा चिकित्सक हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !