५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेकपा एमालेले पार्टी एकताको पक्षमा लाग्ने सबैलाई जिम्मेवारी दिने

प्रकाशित मिति :  ४ भाद्र २०७८, शुक्रबार ०४:४८


काठमाडौं । नेकपा एमालेले पार्टी एकताको पक्षमा लाग्ने सबैलाई जिम्मेवारी दिने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रम मार्फत् एमालेभित्र कुनै पक्षपात नगरिने, सबैलाई समान व्यवहार गरिने र अवसर दिइने घोषणा गर्नुभएको थियो ।

शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपाललाई प्रयोग गरी एमाले चोइटाउनुभएपछि ओलीले त्यस्तो अपिल गर्नुभएको हो ।

ओलीको अपिलपछि देशव्यापी रुपमा एमालेमा एकताको लहर देखिएको छ । एमाले नेतृत्व तहले विगतमा माधवको पक्षमा खुलेका र अहिले एकताको पक्षमा उभिएकाहरु सबैको कदर गर्न विशेष कार्यक्रम चलाउने भएको छ ।

विगतमा माधव नेपालको समूहमा खुल्नुभएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्तले पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन सामूहिक अपिल गर्नुभएको छ ।

यो अपिलसँगै उहाँहरु पार्टी एकताको पक्षमा औपचारिक रुपमा उभिनुभएको छ । स्रोत अनुसार अब उहाँहरु पार्टीको वैठकमा नियमित उपस्थित हुनुहुनेछ । उहाँहरुलाई पदीय जिम्मेवारी अनुसारको काम पनि दिइने भएको छ ।

एमालेले एकता अभियानलाई तलतलसम्म पुराउने भएको छ । जिल्ला गाउँ तहमा पनि जिम्मेवारी दिने कामलाई तिब्र रुपमा अगाडि बढाइने भएको छ ।

केही समयपछि हुने विधान महाधिवेशनलाई पनि एकताको मर्म अनुसार अगाडि बढाइने भएको छ ।

माधव नेपालको समूहमा सानो संख्या मात्र गएको छ । त्यहाँबाट आगामी दिनमा थप नेता कार्यकर्ता मूलघर फर्कने भएकाले त्यसरी फर्कनेहरुलाई पनि जिम्मेवारी दिइने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चोइटिएर गएको समूहमा लागेकाहरुलाई मूलघर फर्कन अपिल गरिसक्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !