अविरल वर्षा: रुपन्देही, कपिलबस्तु र नवलपरासी डुवानमा
काठमाडौं । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
रुपन्देहीमा तिलोत्तमाको शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार लगायत डुवानमा परेका छन् । निरन्तर वर्षा भइरहेको र सबै विवरण आइनसकेको सैनामैना नगरपालिका उपप्रमुख विना रानाले बताउनुभयो ।
वर्षाका कारण तिनाउ, दानव, रोहिणी लगायतका नदीमा बाढीको सतह बढेको छ । ती नदीका तटीय क्षेत्रमा जोखिम बढेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।
कपिलवस्तुको वाणगंगा नदीमा पनि बाढीको सतह बढेको छ । जसले गर्दा नदी किनारका क्षेत्र जोखिममा परेका छन् ।
पश्चिम नवलपरासीको अधिकांश भाग डुब्यो
नवलपरासीको परासी बजार सहितका क्षेत्र पनि डुबानमा परेका छन् ।
वर्षाले सदरमुकाम परासी बजार समेत डुबाएको छ । परासी बजारका अधिकांश घरमा पानी पसेको छ ।
सुनवल नगरपालिका–३ र १० का विभिन्न बस्ती डुबानमा परेका छन् ।
बर्दघाट नगरपालिका– ४ को मुसहर बस्ती डुबानमा परेको छ । वडा नम्बर ६ र १० का बस्ती पनि डुबेका छन् । त्यस्तै वडा नं ११ को विजयपुर, भगजोगनी, गैडाहा, मौराटारी क्षेत्रका बस्ती समेत डुबेका छन् ।
नारायणी पारीको गाउँ सुस्तामा नारायणी नदीको पानी पस्न लागेको छ । गाउँमा पानी पस्न लागेपछि स्थानीयले आफ्ना महत्पूर्ण कागजहरु पानी नपस्ने ठाउँमा सुरक्षित गरेको सुस्ता बचाउ अभियानमा लाग्नुभएका सुस्ता–५ का वडासदस्य आदम हुसेनले जानकारी दिनुभयो ।
नदीको सतह तटबन्धमा पुगिसकेकोले कुनै पनि बेला गाउँ डुबानमा पर्ने उहाँले बताउनुभयो । त्यहाँका स्थानीय सुरक्षित ठाउँमा सर्न लागेका छन् ।
सुस्ता गाउँपालिकाको–१ को बरुवा बजार पनि डुबानमा परेको छ । डुबान क्षेत्रका नागरिकलाई कोटेश्वर मन्दिरमा सारिएको छ ।
पाल्हिनन्दन गाउँपालिकाका शंकरपुर, रामपुर खडौना, सरावलको डुबन्तापुर, पुसौली, भुजहवा र प्रतापपुर गाउँपालिकाका अधिकांश वडा डुबानमा परेका छन् ।
प्रतापपुरमा बाढीले ठूलो क्षति पुर्याएको कार्यवहाक गाउँपालिका अध्यक्ष अञ्जुकुमारी चौधरीले जानकारी दिनुभयो । आफू बिहनैदेखि प्रभावित क्षेत्रमा निस्किएकार र डुबान तथा बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उहाँले बताउनुभयो ।