५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनुकूल परे एकनाथ ढकाल ६ महिने मन्त्री,चर्चलाई संस्कृति मन्त्रालय

प्रकाशित मिति :  ११ भाद्र २०७८, शुक्रबार ११:२८


काठमाडौं । पशुपति क्षेत्र विकास कोष मात्र नभएर देशका सबै धार्मिक सांस्कृतिक फाँटलाई युनिफिकेसन चर्चको प्रभावमा लैजाने प्रयास निष्कर्षमा पुग्न लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य तथा पदाधिकारीहरु नियुक्तिको जिम्मा भित्री रुपमा माधवकुमार नेपाल मार्फत् युनिफिकेसन चर्च आवद्ध अन्तरधार्मिक महासंघ (इन्टरफेथ ग्रुप) लाई दिइएको छ । यो समाचार सार्वजनिक भएपछि तिव्र विरोध सुरु भएको छ ।

नेपालमा सो चर्च मातहत दर्जनौं संस्था छन् । ती सबै संस्थाको नेतृत्वकर्ता एकनाथ ढकाल हुनुहुन्छ भने संरक्षकका रुपमा माधवकुमार नेपाल खुलेरै देखिने गर्नुभएको छ ।

प्राप्त थप समाचार अनुसार माधवको नयाँ पार्टीले अन्य मन्त्रालय छाडेर भए पनि संस्कृति मन्त्रालय मागेको छ । संस्कृति मन्त्रालय अन्र्तगत पशुपति क्षेत्र विकास कोषका साथै अन्य विभिन्न धार्मिक सांस्कृतिक फाँट पर्छ । माधवले जसरी पनि संस्कृति मन्त्रालय हात पार्न खोज्नुको पछाडि युनिफिकेसन चर्चको सेवा गर्ने उद्देश्य निहित रहेको बताइन्छ ।

युनिफिकेशन चर्चको जालो

नेपालमा युनिफिकेसन चर्चले सार्वजनिक रुपमा खुलेर छुट्टै कुनै गतिविधि गर्दैन । चर्चले परिवार दल नामको राजनीतिक पार्टी सहित विभिन्न संस्था चलाउँदै आएको छ । चर्चले चलाएको एउटा संस्था इन्टरफेथ ग्रुप हो । यो ग्रुपमा विभिन्न धर्मका गुरुहरुलाई छानीछानी, ताकिताकि राख्ने गरिएको छ । यो संस्थामा लाग्नेले दक्षिण कोरिया सहित विभिन्न देश घुम्ने मौका पाउने गरेका छन् । त्यसैले कतिपय दिग्गजहरु लोभिएर यो संस्थाको स्वार्थपूर्तिमा सघाउने काम गरिरहेका छन् ।

युनिफिकेशन चर्चले बनाएका विभिन्न संस्थामध्ये एउटा युनिभर्सल पीस फेडेरेशन हो । फेडेरेशन अन्र्तगत इन्टरफेथ ग्रुप सञ्चालित छ । यो संस्थामा हिन्दू, बौद्ध, किराँत, ईसाई, बहाई, जैन, शिख लगायतका धर्मका अगुवाहरु रहेका छन् । यसको भित्री सञ्चालन पीस फेडेरेशनले गर्ने गरेको छ भने पीस फेडेरेशनको भित्री सञ्चालक युनिफिकेसन चर्च हो । फेडेरेशनले विभिन्न धर्मबीच समन्वयको कुरा गर्छ । तर, यसले घुमाउरो पाराले युनिफिकेसन चर्चको एजेण्डालाई स्थापित गर्ने काम गर्छ ।

पीस फेडेरेशनसँग कुनै जमाना निकट रहेका एक जानकार भन्छन्– ‘सबै धर्म उस्तै हो, जुन धर्म मानेपनि हुन्छ, सबै धर्म एकसाथ मान्नु राम्रो हो भनेर पीस फेडेरेशन र अन्तरधार्मिक महासंघले भ्रम फैलाउने गरेको छ । सबै धर्म उस्तै होइन, नेपालीले परम्परागत रुपमा जुनजुन धर्म मान्दै आएका छन्, त्यही धर्म मान्नु राम्रो हो ।’

युनिफिकेसन चर्चमा आवद्ध संस्थाहरुले धर्म समन्वयको नाममा गतिविधि गर्दै आएका छन् । बाहिरबाट हेर्दा उनीहरुको उद्देश्य पवित्र देखिन्छ तर भित्री रुपमा चर्चको प्रभाव फैलाउने उद्देश्य देखिन्छ । त्यही चर्चको प्रभावमा परिवार दलले संविधानसभामा दुई सिटसम्म ल्याएको थियो भने एकनाथ ढकाल मन्त्री समेत बन्नुभएको थियो । पहिलेदेखि नै माधव र एकनाथको विशेष सम्बन्ध रहँदै आएको जगजाहेर छ ।

माधवले नै एमाले सहितका राजनीतिक दलहरु तथा केपी शर्मा ओली नेतृत्वको सरकारलाई होली वाइन काण्डमा फसाउनुभएको थियो । युनिभर्सल पीस फेडेरेशनको एसिया प्रशान्त क्षेत्रको सम्मेलन नेपालमा गराउन माधवले नै सरकारलाई दवाब दिनुभएको थियो । सोही सम्मेलनमा युनिफिकेसन चर्चकी प्रमुख हक जा मुनबाट होली वाइन पिलाउने काम भएको थियो ।

ताकेकै संस्कृति मन्त्रालय

जानकार स्रोतहरुका अनुसार युनिफिकेसन चर्चले नेपालको धार्मिक क्षेत्रमा हात लम्काउन वर्षौंदेखि मेहेनत गर्दै आइरहेको छ । ०६९ मा चर्चका नेपालका हर्ताकर्ता तथा चर्च बनाएको परिवार दल पार्टीका अध्यक्ष एकनाथ ढकाल मन्त्री बन्नुभएको थियो । त्यसबेला प्रधानमन्त्री डा। बाबुराम भट्टराई हुनुहुन्थ्यो । एकनाथले संस्कृति मन्त्री बन्न चाहनुभएको थियो तर नारायणकाजी श्रेष्ठले कडा विरोध गर्नुभएको थियो । चर्चका प्रतिनिधिलाई नेपालको संस्कृति मन्त्री बनाउन हुँदैन भनेर नारायणकाजीले अडान लिनुभएपछि संस्कृति मन्त्री बन्ने एकनाथको प्रयास असफल भएको थियो । त्यसपछि एकनाथलाई गरिबी निवारण तथा सहकारी मन्त्री बनाइएको थियो ।

त्यसको करिब एक दशकपछि एकनाथ ढकाल अघोषित संस्कृति मन्त्री बन्न लाग्नुभएको छ ।

अहिले आएर माधवकुमार नेपाल मार्फत् नेपालको धार्मिक सांस्कृतिक फाँटमा पकड बनाउन युनिफिकेसन चर्च सफल हुने अवस्थामा पुगेको छ । माधवकुमारको पार्टी गठनमा अत्यन्तै बलियो भूमिका एकनाथ ढकालले निर्वाह गर्नुभएको सबैलाई थाहा भइसकेको छ । माधवको पार्टीको पक्षमा युनिफिकेसन चर्च, युनिर्भसल पीस फेडेरेशन तथा त्यस अन्र्तगतका सबै संस्थाहरु दिलोज्यान दिएर लागिपरेका छन् ।

युनिफिकेसन चर्च र युनिभर्सल पीस फेडेरेशनको अहिले नेपालमा ठूलो नेटवर्क र प्रभाव रहेको छ । सो प्रभावलाई आफ्नो पक्षमा उपयोग गर्न माधवको नवगठित पार्टी पनि लालायित देखिएको छ । यही मौका छोपेर अन्तरधार्मिक महासंघलाई अगाडि सारेर पशुपति क्षेत्र विकास कोषमा आफ्ना मान्छे राख्न लागिएको हो । जानकारहरु भन्छन्– माधवको नयाँ पार्टीले संस्कृति मन्त्रालय पाउने हो र पशुपति क्षेत्र विकास कोषमा अन्तरधार्मिक महासंघको इसारामा पदाधिकारी तथा सदस्य नियुक्त गर्ने हो भने नेपालमा युनिफिकेसन चर्चको स्वर्णिम दिन सुरु हुनेछ ।

तर, युनिफिकेशन चर्चको प्रभाव हुने गरी पशुपति क्षेत्र विकास कोषमा नियुक्ती नगर्न र संस्कृति मन्त्रालय माधवको नयाँ पार्टीलाई नदिन चर्को आवाज उठ्न सुरु भइसकेको छ ।

कोष तथा अन्य निकाय सर्वदलीय

पशुपति क्षेत्र विकास कोष सहित विभिन्न धार्मिक संघसंस्थामा हुने राजनीतिक नियुक्तिमा इन्टरफेथ ग्रुप तथा एकनाथ ढकालको हालीमुहाली हुने भए पनि सबै पार्टीलाई भाग दिने सहमति भएको छ । स्रोत अनुसार इन्रफेथ ग्रुपमा सबै पार्टीका धर्मगुरुहरु सामेल भएकाले राजनीतिक नियुक्ति सर्वदलीय गरिने छ ।

उच्च स्रोत अनुसार अब पशुपति क्षेत्र विकास कोष बाहेक गुम्वा व्यवस्थापन समिति, लुम्बिनी विकास कोष, केन्द्रीय हज कमिटी लगायतका ठाउँमा नियुक्ति गर्दा पनि भित्री रुपमा इन्टरफेथ ग्रुपको इशारामा गरिने भएको छ । देशका विभिन्न मठमन्दिर तथा गुम्बा सहित धार्मिक क्षेत्रमा ठूलो संख्यामा राजनीतिक नियुक्ति हुने गरेको छ । त्यस्ता नियुक्ति सबै इन्टरफेथ ग्रुप मार्फत् गर्न प्रयास भइरहेको हो । स्रोत भन्छ– अनुकूल परे एकनाथ ढकाल ६ महिने मन्त्री बनाइनुहुनेछ । अनुकूल नपरेको अवस्थामा माधवको पार्टीका सांसद्लाई नै संस्कृति मन्त्री बनाइनेछ र छायाँ मन्त्रीका रुपमा एकनाथ ढकाल रहनुहुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !