५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माेदिकाे पुत्ला जलाउँदा सरकारकाे आपत्ति

प्रकाशित मिति :  २० भाद्र २०७८, आईतवार ११:३६


काठमाडौं । नेपाल सरकारले छिमेकी मुलुकका प्रधानमन्त्रीको विरोध नगर्न नागरिकलाई चेतावनी दिएको छ ।

छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने कुनै पनि खालका गतिविधि नगर्न सरकारले चेतावनी दिएको हो । गृहमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकका प्रधानमन्त्रीलाई लक्षित गरी कुनै पनि खालका विरोध कार्यक्रम नगर्न चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा केही दिन यतादेखि छिमेकी राष्ट्रका प्रधानमन्त्रीलाई लक्षित गरी विरोध कार्यक्रम भएको उल्लेख गरिएको छ । ‘गत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहने भएको भन्दै विरोध नगर्न मन्त्रालयले चेतावनी दिइएको छ । नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा सरकार कटिवद्ध रहेको मन्त्रालयले जनाएको छ ।

मित्रराष्ट्रसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । मित्रराष्ट्रसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको मन्त्रालयले जनाएको छ । ‘भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

मित्रराष्ट्र विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न मन्त्रालयले जनाएका छ । त्यस्ता गतिविधिमा संलग्न भए कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

केही दिन अघि माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले काठमाडौंमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो । त्यसैलाई लक्षित गरी सरकारले चेतावनी सहितको विज्ञप्ति निकालेको हो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !