३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भरतपुर अस्पताल: जग्गा छ पार्किङ छैन

प्रकाशित मिति :  २२ भाद्र २०७८, मंगलवार ११:१९


चितवन । कार्यालय समय अगाबै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ ।

ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ । अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।

अस्पतालसँग ३१ बिघा जमिन छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अन्य सङ्घ संस्थालाई भाडामा लगाएर पनि अस्पतालसँग १२ बिघा जमिन छ । अस्पतालको आबास क्षेको पूर्व तर्फ भूभाग धानबारी र झाडीले भरिएको छ  । अस्पताल प्रशासनले चासो नदिएकै कारण पार्किङ नभएको हो ।

अध्यक्ष डा. अधिकारीका भनाइमा चिकित्सक, कर्मचारीका लागि प्रशासन अगाडि र दुई नम्बर गेटमा सवारी पार्किङ छ । साँघुरो र थोरै सवारी अट्ने भएकाले त्यहाँ पार्किङ खासै गरिएको पाइँदैन । सर्वसाधारणका लागि पार्किङ नभएको स्वीकार गर्दै उहाँले सडक छेउको नहर पुरेको ठाउँमा केही व्यवस्थित गर्न लागिएको जानकारीदिनुभयो ।

अस्पतालका चिकित्सक, कर्मचारीको मात्र एक सय भन्दा बढी चारपाङ्ग्रे सवारी रहेका बताइएको छ । अस्पतालमा सात सय ५० कर्मचारी कार्यरत छन् । अस्पतालले  दैनिक एक हजार नाै सय जनासम्म  बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । अस्पतालमा चिकित्सक र कर्मचारी सरहनै सवारीसाधन आउने गर्दछन् ।  अस्पतालमा एम्बुलेन्स आवतजावत् गर्ने गर्दछ । ती सवारीका लागि पार्किङ व्यवस्था पूर्ण हुन नसकेको स्वीकार गर्दै अध्यक्ष डा. अधिकारीले यस विषयमा छलफलमानै रहेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर बराकोटी अस्पताल अगाडिको पार्किङ व्यवस्थापन समस्या हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नसभयो, ‘कहिलेकाहीँ त व्यवस्थापन गर्ननै मुस्किल पर्दछ ।’प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो बाटो प्रयोग गरेर जाँदा आफूले पनि अव्यवस्थित पार्किङ देखेर ट्राफिक प्रहरीलाई भनेको जानकारी दिनुभयो । अस्पतालले ठाउँ व्यवस्थापन गरेर आफ्ना चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई पार्किङ व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !