३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज तिजकाे दर खाने दिन

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार ०५:४४


काठमाडाैं । नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तीज आजदेखि सुरू हुँदै छ ।

तीजकाे अघिल्लाे दिन नेपाली नारीहरू आज दर खाँदैछन् । दरखाने दिनसँगै औपचारिक रुपमा सुरु हुने तीज ऋषिपञ्‍चमीसम्म चार दिन मनाइन्छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्छ ।

भाद्र शुक्ल द्वितीया अर्थात तीजमा निराहार व्रत बस्ने भएकाले त्यस दिनका लागि शक्ति प्राप्त गर्न अघिल्लो दिन पौष्टिक तत्व युक्त दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा-मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने गरिन्छ ।

दरका रूपमा विशेषगरी खीर, ढकनी, विभिन्न परिकारका मिठाई, दूध घिउबाट बनेका परिकार खाने प्रचलन छ । तर पछिल्लाे समय माछा-मासुका परिकारलाई पनि दर स्वरूप खाने-खुवाउने परम्परा बसेकाे छ ।

परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्‍वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्‍ने चलन छ ।

दर खानका लागि चेलीबेटीलाई माइत बोलाउने चलन छ । काेभिड महामारी जाेखिमका कारण विगत वर्षजस्ताे भव्य रुपमा दर खाने र तिज मनाउने कार्यक्रम भने याे वर्ष हुने छैनन् । सीमित आफन्तबीच तिज मनाउनुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुलेपनि संक्रमण जाेखिम कायमै रहेकाले घरपरिवारमा मात्र तिज मनाउन आग्रह गरेकाे छ ।

तीजकाे अवसरमा नेपाली नारीले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमार्फत पोख्‍ने गर्छन् । काेराेनाले यस वर्ष तीजको रमझम र चहलपहल नै छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !