३ माघ २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज आश्विन शुक्ल दशमी, नेपालीहरुकाे महान् चाड विजयादशमी

प्रकाशित मिति :  २९ आश्विन २०७८, शुक्रबार ०२:१६


काठमाडाैं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुकाे महान् चाड विजयादशमी ।

मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लाससाथ विजयादशमी मनाईंदैछ । हिन्दू धर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन् ।

विजयादशमीमा घटस्थापनाको दिन पूजाकोठा तथा दशैंघरमा नौ दिनसम्म पूजा गरी राखेको पहेँलो जमरा र रातो टीका सँगै ग्रहण गर्ने प्रचलन छ ।  बडादशैंकाे दशाैं अर्थात् टीकाको दिन दशैंकाे प्रमुख दिन पनि हो ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयकाे प्रतिकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हाे । आजकाे दिन परिवारका आफू भन्दा ठूला मान्यजनको हातबाट टीका लगाई उहाँहरुबाट, ऐश्वर्य, बुद्धि र दीर्घायु प्राप्तिको आशीर्वाद लिने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितका अनुसार टीकाको उत्तम साइत १० बजेर २ मिनेट जाँदा छ । यद्यपि विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नुनपर्ने समितिले जनाएकाे छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ।

आज बडादशैंको मुख्य दिन भए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म नै जारी  रहन्छ । देशका पश्चिम भेगमा भने आजको दिनमात्र टीका लगाउने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

दशैंका अवसरमा नयाँ लुगा लगाउने, आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रंगरोगन गर्ने प्रचलन पनि छ । दशैं पर्वले काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले साेही समयदेखि विजयादशमी मनाउन थालिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

काेराेना महामारीका गत वर्ष दशैं खल्लाे बनेकाे थियाे । काेभिड संक्रमण पूर्ण रुपमा नसकिएपनि याे वर्ष भने दशैं रमाइलाे छ । काेभिड विरुद्धकाे खाेपले नेपालमा प्रभाव पारेकाे छ । त्यसकारण संक्रमण कम हुँदै गएकाे छ । यद्यपि जाेखिम नटरेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दशैं मनाउन र स्वास्थ्यकाे ख्याल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुराेध गरेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !