१५ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पृथ्वी राजमार्ग आसपासका रूख काट्न थालियो

प्रकाशित मिति :  १३ कार्तिक २०७८, शनिबार ०९:४८


काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो ।

बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० रूख काट्नुपर्ने छ । तनहुँ खण्डमा रूख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक आयोजनाले रूख काटेर वन कार्यालयलाई बुझाउनुपर्ने हुन्छ । कास्की खण्डमा भने एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ ।

सडक विस्तारका लागि निर्माण कम्पनीले चीनबाट उपकरण ल्याएको छ । सडकखण्डको ८० किलोमिटरमध्ये म्याग्दे गाउँपालिका–१ गुणादी क्षेत्रको आठ किलोमिटर दूरीमा सडक आसपासको बिजुलीको पोल सार्ने काम सकिएको छ । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ ।

हाल आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । जामुने–पोखरा पश्चिम खण्डमा भने काम सुरु हुने चरणमा छ । निर्माण कम्पनी फिल्डमा आएर काम थालेको मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । रु ६ अर्ब २१ करोड ३१ लाखको लागतमा सो खण्डको ठेक्का सम्झौता भएको छ ।

मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का पाएको यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीका प्रतिनिधि भने कोरोनाको कारण भदौ दोस्रो साता मात्रै नेपाल आइपुगेका छन् । भदौ १३ गते यनहुईका प्रतिनिधिले निर्माण प्रतिबद्धता जनाएको योजना प्रमुख प्रेमप्रकाश खत्रीले जानकारी दिनुभयो ।

भदौ २७ गते निर्माण कम्पनीलाई कार्यक्षेत्र हस्तान्तरण गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि आए पनि कामदार भने आइपुगेका छैनन् । नेपाल आएका प्रतिनिधिले अस्थायी कार्यालय खडा गरेका छन् । कार्यालय बनाउनलाई डिजाइन गर्ने, निर्माणस्थलको निरीक्षण, बीमा र पेस्की लिनका लागि कागजात तयार पार्ने काम प्रतिनिधिले गरिरहेका छन् । रु सात अर्ब ४० करोड ४६ लाखको लागतमा यो प्याकेजको ठेक्का लागेको छ ।

चार लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गर्नुपर्ने मुग्लिन पोखरा सडक योजना पश्चिम (जामुने–पोखरा) खण्डका योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो । एकतिसमध्ये दमौलीस्थित मादी नदी र पोखरास्थित सेती नदीमा पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । अरू २९ पुल दुई प्याकेजमा लगाइएको ठेक्काअन्तर्गत नै निर्माण हुनेछ ।

आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख चार हजार विनियोजन भएको थियो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !