५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

शासन प्रशासनमा नदेखिने खाँड र पशुपतिमा लाइन बसेका खाँड

प्रकाशित मिति :  १३ कार्तिक २०७८, शनिबार १०:३८


विकास अधिकारी-

अहिलेका गृहमन्त्री बालकृष्ण खाँड भद्रपुर विमानस्थलमा ओर्लनुभयो । त्यसबेला उहाँ तरुण दलको अध्यक्ष हुनुहुन्थ्यो, माओवादीको ज्यानमारा अभियान चरममा थियो । सुरक्षाकर्मीले जताततै कडा सुरक्षा जाँच गर्थे । खाँडलाई देखेपछि प्रहरीले जाँच नगरी अगाडि जान भन्यो । खाँडले मान्नुभएन, मेरो पनि जाँच गर्नुस्, सबैको जाँच गर्नुस् भन्नुभयो ।

आज बिहान खाँड पशुपतिनाथ मन्दिर जानुभयो । सर्वसाधारण झैं लाइनमा लागेर दर्शन गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री यसरी लाइन लागेर दर्शन गर्नु नेपालमा नौलो नै कुरा हो । तर, यो खाँडको स्वभाव पनि हो ।

गृहमन्त्रीको व्यक्तिगत स्वभाव कस्तो छ भन्नेले खासै अर्थ राख्दैन । गृहमन्त्रीको राम्रो स्वभाव र आचरण शासन प्रशासनमा झल्किन्छ कि झल्कँदैन भन्ने चाहिँ मुख्य हो ।

खाँडको अर्काे प्रसंग जानकारहरु सुनाउँछन् । ०५८ सालमा रक्षा मन्त्री हुँदा खाँड भैरहवा विमानस्थलमा ओर्लनुभयो । भिआईपी कक्षबाट नभएर सर्वसाधारणको लाइनबाट बाहिरिन खोज्नुभयो । त्यसबेला पनि माओवादी आतंक चरममा थियो, सुरक्षा जाँच कडा थियो । अन्य यात्रुसँगै लाइनमा बस्नुभएका खाँडलाई सुरक्षाकर्मीले जाँच्न चाहेनन् । खाँडले भन्नुभयो– ‘तपाईंहरुले सबैको जाँच गर्ने हो भने मेरो पनि जाँच गर्नुस्, सबैको जाँच हुन्छ र यो चेकजाँच आमजनताको सुरक्षाका लागि हो भन्ने सन्देश दिनुस् ।’

त्यसपछि मन्त्री खाँडको पनि चेकजाँच गरिएको थियो ।

त्यसबेला आतंक मच्चाउने माओवादीको काँधमा चढेर खाँड अहिले मन्त्री हुनुहुन्छ । प्रधानमन्त्री देउवाको अनुपस्थितिमा खाँड कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । ठूलो नपल्टिने, सर्वसाधारण बन्ने खाँडको पूरानो स्वभाव हो । गृहममन्त्रीका रुपमा पनि खाँडले त्यो स्वभावलाई निरन्तरता दिनु प्रशंसायोग्य हो । तर, गृहमन्त्रीबाट जनताले सर्वसधारण झैं स्वभाव खोज्दैनन्, सर्वसाधारणको दुःख निवारण खोज्छन् । गृह प्रशासनको ठालू प्रवृत्ति र जनतामारा चरित्र कायम रहने हो भने खाँडले सर्वसाधारण झैं बन्नुको अर्थ हुँदैन ।

खाँड गृहमन्त्री बन्नुभएको सयदिन पूरै भइसकेको छ । यो सय दिनमा गृहप्रशासनमा व्यापक सुधार देखिएन । गृहमन्त्रीको अनुहार सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनमा खोज्छन् । गृह प्रशासनमा खाँडले कुनै सुधार गर्नुभएको देखिएन । तीन महिनामै सबै सुधार हुन्छ भन्न सकिन्न । तर, यति अवधीमा सुधारको लक्षण भने देखिनुपर्ने हो । गृहमन्त्रीका रुपमा खाँडको स्वतन्त्र छवी पनि देखिएन । इतिहासमा बारम्बार असक्षम सावित शेरबहादुर देउवाको छायाँका रुपमा मात्र खाँड देखिनुभएको छ ।

पशुपति दर्शनपछि खाँडले नयाँ बाटो देख्ने आश गर्न सकिन्छ तर भर पर्न सकिन्न । किनभने उहाँ परमादेशीय सरकारका मन्त्री हुनुहुन्छ ।

 

 

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !