४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुली माढीमा अहिले बिहान ११ बजेदेखि निषेधाज्ञा जारी,सभा, सम्मेलन, भेला तथा जुलुश गर्न रोक

प्रकाशित मिति :  २४ कार्तिक २०७८, बुधबार ०७:०७


काठमाडौं । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली माढीमा अहिले बिहान ११ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

सिन्धुली माढीको बालउद्यान पार्क तथा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिक अनावरण गर्न एमाले महासचिव ईश्वर पोखरेल सिन्धुली माढी पुग्नुभएपछि कांग्रेस–माओवादीका कार्यकर्ताले विरोध जनाएका कारण झडप हुने अवस्था सिर्जना भएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जारी गर्नुभएको निषेधाज्ञा बुधबार राती १२ बजेसम्म लागु हुने भएको छ । सो अवधिमा कुनै पनि सभा, सम्मेलन, भेला तथा जुलुश गर्न प्रशासनले रोक लगाएको छ ।

कमलामाई नगरपालिकाले बालउद्यान उद्घाटन गर्नका लागि पोखरेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । पोखरेललाई प्रमुख अतिथि बनाएर कार्यक्रममा बोलाएको भन्दै गठबन्धनले विरोध जनाएको थियो ।

पोखरेलले उद्घाटन गर्ने भनेपनि विहानैदेखि गठबन्धका कार्यकर्ता पार्क घेरेर बसेका थिए । कार्यक्रम स्थलमा एमाले कार्यकर्ता पनि ठूलो संख्यामा उपस्थित भएपछि हुनसक्ने झडपलाई ध्यानमा राखि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले माढीको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा जारीभएसँगै माढी बजारमा हुन लागेको कार्यक्रम पनि स्थगित भएको छ ।

माढीमा कार्यक्रम नहुने भएपछि सिन्धुलीगढीमा हुने विजयोत्सव समारोहमा भाग लिन पोखरेल गढी पुग्नुभएको छ । सिन्धुलीगढीमा अंग्रेज सेनाविरुद्धको लडाइँमा गोर्खाली फौज विजयी भएको स्मरणमा हरेक वर्ष कात्तिक २४ मा विजयउत्सव मनाउने गरिन्छ । सो कार्यक्रममा पोखरेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

सिन्धुली जिल्लामा नेकपा माओवादीको नेतृत्व राजन दाहालले गरिरहुनभएको छ । दाहालकै अगुवाईमा आजको कार्यक्रम विथोलिएको हो ।

उहाँ यस अघि रामेछापमा माओवादीको जिल्ला इञ्चार्ज भएर काम गर्दा पनि पोखरेल रामेछापको कार्यक्रममा सहभागी भएर दोलखा जोन क्रममा खिम्ती स्थित भोर्ले भिरमा माओवादी कार्यकर्ताले माथिबाट ढुंगा लडाएर आक्रमण गरेका थिए ।

सो आक्रमणबाट पोखरेल बालबाल बच्नुभएको थियो । अहिले पनि त्यस्तै घटना दोहोरिने डरले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !