सर्वोच्चको आदेश : त्रिविमा खुला प्रतिष्पर्धाबाट प्राध्यापक नियुक्त गर्नु
काठमाडाैं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक नियुक्त गर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदकाे पदपूर्तिको विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन साेमबार अन्तरिम आदेश दिएकाे हाे । त्रिविमा सेवारत आंशिक कर्मचारीलाई आन्तरिक प्रतिष्पर्धाबाट नियुक्त गर्ने त्रिवि सभाकाे मंसिर १४ गतेकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले आदेश दिएकाे हाे ।
‘त्रिवि सेवा आयोगबाट मिति २०७७/११/९ मा खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदको पदपूर्तिका लागि भएको विज्ञापनलाई मिति २०७८/०४/१८ को सूचनाबाट मिति २०७८/०५/१५ गते देखि सञ्चालन गरिने भनिएको लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणबस स्थगित गरिएको देखिन्छ, तत् पश्चात मिति २०७८/८/१४ को त्रिभुवन विश्वविध्यालय सभाको निर्णय नं.५ ले त्रिवि सेवामा संलग्न रहेका शिक्षक कर्मचारीहरुलाई सम्बोधन हुने गरी वि.वि. शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को नियम ६ को संशोधनमा अघि नै विज्ञापन भइसकेको खुला प्रतियोगितासम्बन्धी विज्ञापनलाई असर पर्ने कुनै व्यहोरा उल्लेख नभएको हुँदा त्रिवि सेवा आयोगबाट मिति २०७७/११/०९ मा जारी सूचना बमोजिमको कारबाहीलाई लामो समयसम्म स्थगित नगरी सो विज्ञापनसम्बन्धी आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउनू’- आदेशमा लेखिएकाे छ ।
त्रिविको निर्णयपछि खुला प्रतिष्पर्धामा भाग लिएकाहरु सर्वोच्च अदालत गएका थिए । उनीहरुकाे रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले आज खुला प्रतियोगिताबाट प्राध्यापक नियुक्तिकाे प्रक्रिया तत्काल थाल्न आदेश दिएकाे हाे ।