लज्जास्पद हारको डरले गठबन्धन स्थानीय चुनावबाट भाग्दै : रामप्रसाद रिजाल
काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले पाँच दलीय गठबन्धन सरकार निरङ्कुश र तानासाही बाटो तर्फ अघि बढेको बताउनुभएको छ ।
राइजिङसन खबरसँग कुरा गर्दै नेता रिजालले सरकार संविधान, कानुन र विधि विपरीत अघि बढ्न लागेको बताउनुभयो । संविधान, कानुन र विधिलाई मिचेर स्थानीय तह निर्वाचन नगर्ने षडयन्त्रमा गठबन्धन सरकार लागेको उहाँले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट विद्रोह गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका रिजालले चुनावमा लज्जास्पद हार हुने देखेर गठबन्धनका दल स्थानीय चुनावबाट भाग्न खोजेको बताउनुभयो । ‘चुनाव नगराई सरकारको आयु बढाइरहने यो पाँच दलीय गठबन्धनको सरकार प्रतिगामी तानासाही निरङ्कुश अवैधानिक सरकार हो’, उहाँले भन्नुभयो ।
वर्तमान सरकार इतिहासकै नालायक, जनविरोधी, राष्ट्रघाती र राष्ट्रियता विरोधी भारतको इशारामा चलिरहेको समेत उहाँको आरोप छ । त्यसैले सरका राष्ट्र र जनता प्रति जिम्मेवार नरहेको उहाँले बताउनुभयो ।
जनमत विपरीत बनेको परमादेशी सरकारसँग नेपाली जनताको आशा र भरोसा समेत टुटेको उहाँले बताउनुभयो । वर्तमान सरकारसँग कुनै पनि आशा गर्न नसकिने उहाँको भनाइ छ ।
प्रचण्ड र माधव नेपाल जस्ता जनाधार नभएका पार्टीको इसारामा चलेर कांग्रेस समेत चुनावबाट भाग्न खोजेको उहाँले बताउनुभयो । यसको जवाफ जनताले चुनावबाट दिने पनि उहाँको भनाइ छ ।
विधि पद्धतिको कुरा गरेर कहिल्यै नथाक्ने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सधैँ विधि पद्धति मिचेर अघि बढ्ने नेता भएको उहाँले बताउनुभयो । उहाँलाई नियम, कानुन, संविधान केही पनि मतलब नभएको र सधैँ मान सम्मान र प्रतिष्ठा खोज्दै हिँड्ने नेता भएको उहाँले बताउनुभयो । माधव नेपाल र प्रचण्डको षडयन्त्र चुनाव नगराउने र अस्थिरतामा रमाउने रहेको उहाँको भनाइ छ ।
चुनाव हुँदा कतै पनि चुनाव जित्ने आधार नभएकोले उहाँहरू चुनावमा जाने सोचमा नै नरहेको रिजालको भनाइ छ । त्यसैले कांग्रेसलाई लोभ्याएर र धम्क्याएर उहाँहरू चुनाव नगराउने दाउमा रहेको रिजालले बताउनुभयो ।