२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अभिव्यक्तिलाई सामान्य रूपमा लिनु- मन्त्री रेणु यादव

प्रकाशित मिति :  १० माघ २०७८, सोमबार ०८:३२


काठमाडौं । रौतहटको गौरमा हिंसात्मक अभिव्यक्ति दिनुभएकी संघीय सरकारकी मन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई सामान्य रूपमा लिन आग्रह गर्नुभएको छ ।

गत माघ ५ गते रौतहटको गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवले सीके राउतको ज्यान लिने धम्की दिनुभएको थियो । उहाँले गौर हत्या काण्ड जस्तै अर्को नरसंहार मच्चाउने धम्की दिनुभएको थियो ।

समाजवादी युवा संघले रौतहटमा आयोजना गरेको श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति कसै प्रति लक्षित नभएको उहाँले बताउनुभएको छ । सोमबार विज्ञप्ति जारी गरी उहाँले कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन आग्रह गरेको बताउनुभएको छ । ‘कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढङ्गले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग गर्ने र कसैलाई उत्तेजित पार्ने नभएको यादवले बताउनुभएको छ । आफ्नो वक्तव्यलाई अतिरञ्जित नगरिदिन भन्दै उहाँले आग्रह गर्नुभएको छ । ‘मेरो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु, साथै यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध पनि गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !