६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली युवाका बिचमा अति लोकप्रिय राजनेता-महेश बस्नेत

प्रकाशित मिति :  १२ माघ २०७८, बुधबार ११:५८


काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओली युवाका बिचमा अति लोकप्रिय राजनेता भएको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई बुधबार भक्तपुरको बालकोटमा सम्बोधन गर्दै नेता बस्नेतले केपी ओलीसँग जोडेर एमाले विरोधीले युवालाई समेत गाली गर्ने गरेको बताउनुभयो ।

राज्य सत्ता कब्जा गर्ने प्रचण्डमा पलाएको महत्वकांक्षी सपनालाई समाप्त गरेर देशलाई शान्ति प्रक्रियामा ल्याउने काममा केपी ओलीले वैचारिक आन्दोलन चलाएको उहाँले बताउनुभयो । सो क्रममा धेरै युवाले बलिदान दिनुपरेको उहाँले स्मरण गर्नुभयो । त्यतिबेला युवाहरू रक्तदान होइन जीवनदान गर्ने गरी टाउकोमा कफन बाँधेर उत्रिएका उहाँले बताउनुभयो ।

केपी ओलीले सिङ्गो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियान चलाएको उहाँले बताउनुभयो । ओलीले पहिला नेतालाई लिएर कम्युनिष्ट आन्दोलनलाई एक गराउन खोजे पनि त्यो सफल नभएपछि अहिले कार्यकर्तालाई लिएर कम्युनिष्ट आन्दोलनलाई एक बनाउन लागेको उहाँले प्रष्ट पार्नुभयो ।

केपी ओलीको कार्यकालमा नेपाल पूर्वाधारको युगमा प्रवेश गरेको उहाँले बताउनुभयो । राष्ट्रिय पुँजीलाई विकास गर्ने कुरामा ओलीको महत्त्वपूर्ण योगदान रहेको उहाँको दाबी छ ।

ओलीको लोकप्रियतालाई सहन नसकेर प्रचण्ड र माधव नेपालले पार्टी फुटाएको उहाँले बताउनुभयो । आज उहाँहरू एमाले विरुद्ध गठबन्धन गरेर स्थानीय तहको निर्वाचन नगर्ने अभियानमा लागेको बस्नेतको भनाइ छ ।बालुवाटारबाट केपी ओलीलाई बालकोट पुर्‍याइयो भन्नेहरू अहिले केपी ओलीको निवास बालकोटमा धाइरहेको उहाँले बताउनुभयो ।

बस्नेतले देश सिद्ध्याउने भाइरसका विरुद्ध लड्न केपी शर्मा ओली छिटो कोभिड भाइरसबाट मुक्त हुनुपर्ने बताउनुभयो । ‘तपाईँले यो भाइरसलाई परास्त गर्नुपर्ने छ, किन भने युवाको भनाई के छ भने मुलुकका असङ्ख्य भाइरसहरूलाई तपाईँले समाप्त गर्नुपर्ने छ, अन्तर्राष्ट्रिय भाइरसहरूलाई तपाईँले समाप्त पर्नुपर्ने छ, निर्वाचन नगरेर लोकतन्त्रलाई समाप्त गर्न खोज्ने भाइरसहरू फेरि पनि सक्रिय हुन खोज्दै छन्, जनताका समृद्धिका सपनालाई ध्वस्त पार्ने भाइरसहरू फेरी सक्रिय हुन खोज्दै छन्, नेकपा एमालेलाईको विरुद्ध गठबन्धन निर्माण गरेर अनेक खालका भाइरसहरू फेरि सक्रिय हुन खोज्दै छन्, यस्ता भाइरसलाई तह लगाउनको लागि फेरि पनि केपी ओलीको नेतृत्व आवश्यक छ’, उहाँले भन्नुभयो ।

उहाँले स्वास्थ्य मापदण्डको पालना गर्दै युवा संघले महँगी, असुरक्षा निर्वाचन नगर्ने षडयन्त्र लगायतको विरुद्ध आन्दोलन अघि बढाउने बताउनुभयो । एमाले नेता कार्यकर्ता माथि आक्रमण गर्ने कोही कसैलाई युवा संघले नछाड्ने पनि उहाँले चेतावनी दिनुभयो ।

बस्नेतले बैशाखमा निर्वाचन गर्नै पर्ने बताउनुभयो । निर्वाचन नगराउन षडयन्त्र गर्ने कुनै पनि शक्तिलाई सडकमा निस्कन नसक्ने बनाउने पनि उहाँले चेतावनी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !