६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्वाचन जहिले भए पनि सामना गर्छाैं- माधव नेपाल

प्रकाशित मिति :  १५ माघ २०७८, शनिबार ०८:००


काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सबैभन्दा ठुलो चुनौती नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली भएको बताउनुभएको छ ।

सो पार्टी निकट कर्मचारी संगठनको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै नेपालले एमालेले विभिन्न खालका भ्रम फैल्याउने काम गरेको आरोप लगाउनुभयो । राष्ट्रिय सभा निर्वाचनमा समेत एमालेले पैसाको खोलो बगाएको नेपालको आरोप छ ।

निर्वाचन आयोग लगायत राज्यका निकायले आफ्नो जिम्मेवारी पूरा गरेनन् भने निर्वाचन प्रणालीलाई सुधार गर्न नसकिने उहाँले बताउनुभयो । निर्वाचनलाई कसरी कम खर्चिलो बनाउन सकिन्छ भन्ने विषयमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमालेलाई नेपालको राजनीतिक आन्दोलनको मूल शक्ति बनाउन धेरै संघर्ष गर्नुपरेको उहाँले स्मरण गर्नुभयो । तर त्यसको नेतृत्वमा रहेका व्यक्तिले बाटो बिराएको कारण पार्टी फुटाउनु परेको उहाँले बताउनुभयो । ‘पार्टीमा आन्तरिक समस्या खडा भयो, त्यसले पार्टी विभाजन भयो’, उहाँले भन्नुभयो ।

प्राप्त उपलब्धिलाई केपी ओलीले निजी स्वार्थमा प्रयोग गर्न खोज्दा नेकपा एमाले र माओवादी छुट्टिएको मात्र नभई एमाले समेत टुक्रिएको उहाँले बताउनुभयो । क्रान्तिकारी चेतको कारण आफूले नयाँ संगठन निर्माण गरेको उहाँको भनाइ छ ।

आफ्नो साथमा रहेका एमालेका कतिपय नेताहरू पछिसम्म टिक्न नसकेको उहाँले बताउनुभयो । उहाँहरूले बिचमा खुट्टा कमाएर साथ छाडेको नेपालको भनाइ छ ।

अहिले देशमा बाम र लोकतान्त्रिक गठबन्धन एकातिर र अर्कोतिर दक्षिणपन्थी भासमा भासिएको एमाले राप्रपा र विदेशीको इशारामा चल्ने तमलोपा रहेका उहाँले बताउनुभयो । गठबन्धनलाई अगाडि बढाउने विषयमा छलफल चलिहरेको उहाँले जानकारी दिनुभयो ।

गएको स्थानीय तह निर्वाचन तीन चरणमा भएको बताउँदै नेपालले पहिलो चरणमा भएको निर्वाचनलाई आधार मान्नुको कारण के भन्ने कुरा बुझ्न नसकिएको बताउनुभयो । स्थानीय तहको अन्तिम चरणको निर्वाचन भएको असोजलाई आधार मानेर त्यसको ६ महिना भित्र चुनाव गर्न सकिने उहाँको भनाइ छ ।

नेपालले आफूहरू चुनावसँग नडराएको पनि बताउनुभयो । वैशाख, असार वा असोजमा जहिले चुनाव भए पनि आफूहरू सामना गर्न तयार रहेको नेपालले बताउनुभयो । चुनाव जहिले भए पनि एक भएर जाने कुरामा गठबन्धन भित्र सहमति रहेको नेपालको भनाइ छ ।

नेपालले राष्ट्रिय सभामा गठबन्धनको दुईतिहाई बहुमत पुग्ने भएकोले राष्ट्रिय सभाबाट गठबन्धनले जे गर्न चाह्यो त्यही हुने उहाँले बताउनुभयो । राष्ट्रिय सभा निर्वाचनले गठबन्धनलाई अझ बलियो बनाएको उहाँले बताउनुभयो ।

यसले भोलिको निर्वाचनमा गठबन्धनबाट गयो भने सबैको भलो हुन्छ भन्ने प्रष्ट भएको उहाँको भनाइ छ । आगामि निर्वाचनमा पनि गठबन्धन एक भएर जाने उहाँले बताउनुभयो ।

प्रतिनिधि सभा निर्वाचन पछि त्यहाँको समीकरणमा पनि व्यापक फेरबदल हुने उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन पछि आउने परिणामको पनि आकलन गर्न थालिएको नेपालको भनाइ छ ।

नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली देशको प्रगतिको विरुद्ध रहेकाले त्यस तर्फ सचेत रहनु पर्ने नेपालले बताउनुभयो । एमाले भित्रको समस्याको कारण दिनदिनै जस्तो एमाले छाडेर समाजवादीमा आउने क्रम जारी रहेको नेपालले बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याले नेपालको टे्रड युनियन आन्दोलन पनि प्रभावित भएको नेपालले बताउनुभयो । नेता नेपालले विगतमा कर्मचारीको टेको लिएर आफ्नो स्वार्थ साधना गर्ने मात्र प्रयास भएको बताउनुभयो ।

ट्रेड युनियन आन्दोलनलाई व्यवस्थित बनाएर अगाडि बढ्न  कसैले पनि नचाहेको उहाँले बताउनुभयो । स्वाभिमानलाई माथि उठाउनका खातिर ट्रेड युनियन आन्दोलनलाई पुनर्गठन गर्न आवश्यक परेको उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !