६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसदीय अभ्यासलाई मर्यादित र सभ्य बनाउने दायित्व सबैको- पृथ्वीसुब्बा गुरुङ

प्रकाशित मिति :  २२ माघ २०७८, शनिबार ०९:४७


काठमाडौं । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले सत्तामा रहँदा प्रतिपक्षीको विश्वास जित्नु र प्रतिपक्षमा हुँदा रचनात्मक हुनु राजनीतिक दलको दायित्व भएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सभाको चौथो स्थापना दिवसको अवरमा शुभकामना सन्देश दिँदै एमाले उपमहासचिव समेत रहनु भएका गुरुङले आफ्ना आचरणले आउने पुस्तालाई संसदीय लोकतन्त्रको अभ्यासमा मार्गदर्शन गरिरहोस् भन्ने चाहना रहेको बताउनुभएको छ । तर नेपालका कतिपय दलहरूका पछिल्ला गतिविधि संघीयताका मर्म र भावना विपरीतका देखा पर्नुले शिशु संघीयताप्रति जनताको दृष्टिकोणलाई नकारात्मक बनाउन सहयोग पुग्यो भन्ने गुरुङ निष्कर्ष छ ।

सबैको प्रतिबद्धताबाट मात्रै संघीय लोकतान्त्रिक संसदीय प्रणालीलाई सुदृढ बनाउन सकिने उहाँको विश्वास छ । ‘जति प्रदेश सभा प्रभावकारी बन्छ त्यति नै जनताको आकांक्षा पूरा हुन्छ, गण्डकी प्रदेश सभालाई प्रभावकारी र सशक्त बनाउन प्रदेश सभाको नेतृत्वले थप मिहिनेत गरेर बाँकी समयको सदुपयोग गरोस्’, गुरुङले भन्नुभएको छ ।

नेपालको संविधान नेपाली जनताको सात दशकको मिहिनेतको प्रतिफल भएको उहाँले स्मरण गराउनुभएको छ । संविधान कार्यान्वयन गर्नुको महत्त्वपूर्ण उपलब्धिको रूपमा प्रदेश सभा निर्माण भएको उहाँले बताउनुभएको छ ।
गण्डकी प्रदेश सभाले धेरै मिहिनेत गरेर उल्लेखनीय उपलब्धि हाँसिला गरेको पनि उहाँले स्मरण गराउनुभएको छ । यो उपलब्धिको दस्तावेजीकरण गर्नु जरुरी रहेको उहाँले बताउनुभएको छ ।

आफू मुख्यमन्त्री हुँदा गण्डकी प्रदेश सभालाई सत्ता र प्रतिपक्षीको साझा दायित्वका रूपमा बुझेर नै समझदारी, समन्वय र सन्तुलनबाट अघि बढाएको क्षणको स्मरण गर्दा मात्रै पनि गौरवबोध हुने उहाँले बताउनुभएको छ ।

संसदीय अभ्यासलाई मर्यादित र सभ्य बनाउने दायित्व सबैको रहेको उहाँले बताउनुभएको छ । सत्ता पक्ष र प्रतिपक्ष दुवैमा रहँदा विधि र व्यवहार लोकतान्त्रिक हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !