श्रीपञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईंदै
काठमाडौं । आज श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज मनाईंदै छ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर देशभर मनाउने गरिन्छ । विशेषगरी शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूले हर्षाेल्लाससाथ याे पर्व मनाउँछन् ।
आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालु विशेषगरी छात्रछात्राकाे भीड लाग्छ । काठमाडाैं उपत्यकाका मैतीदेवी, नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले लगायत विभिन्न सरस्वती मन्दिरहरू पनि सरस्वतीकाे दर्शन गर्न जानेकाे भीड लाग्ने गर्छ । तर काेभिड महामारी जाेखिमका कारण विगतमा जस्ताे भीड भने याे वर्ष लाग्ने छैन ।
काेभिड संक्रमण बढेपछि मठ मन्दिरमा नित्य पूजा मात्र गर्न स्थानीय प्रशासनले आग्रह गरेकाे छ । सरस्वतीकाे पूजा गर्न विद्यालयमा भेला हुने प्रचलन पनि छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरे पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् ।
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनेर शास्त्रमा उल्लेख छ ।
ऋतुहरूको राजा वसन्तको सुरुआत हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास साथ आजका दिनलाई वसन्त पञ्चमी भनिएकाे शास्त्रमा उल्लेख छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्र प्रमुखले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा पनि छ ।