२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली जत्तिको परिपक्व नेता केही छैन-कैलाश ढुङ्गेल

प्रकाशित मिति :  २ फाल्गुन २०७८, सोमबार १०:१६


रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले नेपालको समसामयिक राजनीतिमा केपी ओली जत्तिको परिपक्व नेता केही नभएको दाबी गर्नुभएको छ ।

नेकपा एमाले रामेछापले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै नेता ढुङ्गेलले नेतालाई अनुभव र भोगाइले परिपक्व बनाउने बताउनुभयो । नेतृत्व लाई कमजोर पारेर पार्टी कदापि बलियो बनाउन नसकिने उहाँले बताउनुभयो ।

पार्टी विधि र पद्धतिबाट चल्नु पर्ने बताउँदै उहाँले एमाले त्यही विधिलाई पछ्याउँदै अहिलेको अवस्थामा आएको बताउनुभयो । कम्युनिष्ट विरुद्ध विश्वले भ्रम फैलाई रहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलन स्थापित भएको ढुङ्गेलले बताउनुभयो ।

जननेता मदन भण्डारीले ल्याउनुभएको जनताको बहुदलीय जनवादको आदर्शलाई नेकपा एमालेले नलिएको भए अहिलेको अवस्थामा आउने सम्भावना नै नरहेको उहाँले बताउनुभयो । ‘बहुदलीय व्यवस्थालाई जनताको बहुदलीय जनवादले स्वीकार्यो, पार्टी भित्र र बाहिर बहुलतालाई नस्विकार्ने हो भने जडसुत्रवादी होइन्छ भनेर मदन भण्डारीले भन्नुभयो, नाम जे दिए पनि सो कुरालाई नेपालका अन्य कम्युनिष्टले पनि स्विकारे र संसदीय व्यवस्थामा आए’, उहाँले भन्नुभयो ।

आज माधव नेपाल विचार विहीन र गन्तव्य विहीन भएर हिँडेको उहाँले बताउनुभयो । माधव नेपाल कुहिरोको काग जस्तै भएको उहाँको भनाइ छ ।

उहाँले स्थानीय तह निर्वाचन घोषणा भए पनि षडयन्त्र जारी रहेको बताउनुभयो । त्यही षडयन्त्रको परिणाम प्रधानन्यायाधीश विरुद्ध अविश्वास प्रस्ताव आएको उहाँले टिप्पणी गर्नुभयो । एमालेले कुनै पनि बहानामा निर्वाचन भाँड्न नदिने र आउने निर्वाचन जित्ने उहाँले जिकिर गर्नुभयो ।

नेता ढुङ्गेलले नेपालको राजनीतिमा अब एमालेको विकल्प नरहेको बताउनुभयो । अब यो देशमा एमाले पछिको पार्टी कांग्रेस नै हुने उहाँको भनाइ छ । ‘नेपाल अब दुई पार्टी सिष्टममा जान्छ, अरु पार्टी हराउँछन्’, उहाँले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !