४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युवा संघले उठायो कमलपोखरी क्षेत्रबाट ५ टिपर फोहर

प्रकाशित मिति :  ५ भाद्र २०७९, आईतवार १५:१४


काठमाडौँ – दबाबमूलक सरसफाई अभियान अन्तर्गत राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौँको कमलपोखरी क्षेत्रको फोहर संकलन गरेको छ । बागमती प्रदेश कमिटीको व्यवस्थापनमा संघले आयोजना गरेको उक्त अभियान अन्तर्गत सातौँ दिन महिनौँसम्म नउठेको ५ टिपर फोहर संकलन गरिएको हो ।

संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा पछिल्लो समय काठमाडौँका विभिन्न क्षेत्रमा थुप्रिएको फोहर संकलन गर्ने अभियान संचालन भइरहेको छ । काठमाडौँमा चुलिएको फोहरमैलाको विकराल समस्याविरुद्धको दबाबमूलक सरसफाई अभियान अन्तर्गत संघले पहिलो दिन नयाँ बानेश्वर तथा पुरानो बानेश्वर क्षेत्रमा थुपारिएको फोहर संकलन गरेको थियो । अभियानको दोस्रो दिन कालोपुलमा थुप्रिएको फोहर संकलन गरिएको हो ।

त्यस्तै अभियान अन्तर्गत तेस्रो दिन चाबहिल–गौशाला क्षेत्रको फोहर संकलन गरिएको थियो र चौँथोँ दिन गोंगबु चोकको फोहर संकलन गरिएको हो । संघले पाँचौँ दिन काठमाडौँको शान्तिनगर क्षेत्रको फोहर उठाएको थियो । अभियानको छैठौँ दिन ललितपुर जिल्लाको लगनखेल चोकमा थुपारिएको फोहर संकलन गरिएको थियो ।
फोहर संकलन कार्यक्रममा बोल्दै संघका अध्यक्ष पौडेलले यस अभियानलाई निरन्तर संचालन गरिरहने जानकारी दिए । जबसम्म सम्बन्धित निकायले उपत्यकाका विभिन्न क्षेत्रमा थुपारिएको फोहर उठाउँदैन संघले तबसम्म सरसफाई अभियान संचालन चलाई रहनेसमेत अध्यक्ष पौडेलको भनाई छ ।

संघका अध्यक्ष पौडेलले भने,‘यो सरसफाई अभियान हामीले निःस्वार्थ सम्बन्धित निकायलाई दबाब दिन र जनचेतना जागृत गर्नका लागि संचालन गरेका हौँ । काठमाडौँमा चुलिएको फोहरको समस्या जबसम्म पूर्णरुपमा सामधान हुँदैन तबसम्म हामी यो अभियान चलाइरहन्छौँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !