५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

प्रकाशित मिति :  १ कार्तिक २०७९, मंगलवार १४:२८


दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ ।  
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान(फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ । 

स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा र चराचुरुरङ्गीका लागि प्रख्यात ठाउँ भएको बताउनुभयो । उहाँले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको बताउनुभयो । पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचारप्रसार हुनसकेको छैनु, उहाँले भन्नुभयो, बिभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैँडा पनि यहाँ देख्न सकिन्छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताउनु हुन्छ । शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छु, उहाँले भन्नुभयो, यसको प्रचारप्रसार हुनसके यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुन्छ । शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उहाँले भनाइ छ । यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङगको नगर भनेर घोषणा समेत गरेको छ ।
    
बाह्रसिङ्गाको बथान देखिने फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास समेत बसेका थिए । शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ । घाँसे मैदानमा बाह्रसिङ्गाको बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्काैला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताउनुभयो । 

समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छु,उहाँले भन्नुभयो, शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउछ ।

 निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाउ–ठाउमा अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । 
फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स–साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ । 

निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । 
राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । बि.स. २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ ।  एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । 

त्यसैगरी २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताउनुभयो । पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छु, उहाँले भन्नुभयो, यहाँको फाँटमा देखिने बाह्रसिङ्गाको बथाननै पर्यटकको मुख्य आकर्षण हो ।

उहाँले शुक्लाफाँटाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । शुक्लाफाँटा छेउमै रहेको रानाथारु समुदायले पनि सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन । 
होमस्टेमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा राना थारु नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन । यो बाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा छन ।शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि  सात सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो । 

विसं २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् ।  यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०–९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

 विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन् । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

कसरी पुग्ने शुक्लाफाँटा ?

काठमाडौँदेखि महेन्द्रनगर छ सय ९७ किमिको दुरीमा रहेको शुक्लाफाँटा सडक यातायातबाट करिब १६ घण्टाको यात्रपछि महेन्द्रनगर सदरमुकाम पुगिन्छ । महेन्द्रनगर सदरमुकामबाट सात किमिको दूरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । काठमाडौँबाट धनगढीका लागि करिब एक घण्टाको हवाइ यात्रामा धनगढी विमानस्थल पुगेर शुक्लाफाँटा पुग्न सकिन्छ । 
 
त्यसैगरी विदेशी पर्यटकका लागि पश्चिमी सिमानाका गड्डाचौकीबाटसमेत सहज रुपमा महेन्द्रनगर पुग्न सकिन्छ । पश्चिमी सिमानाका गड्डाचौकीबाट आठ किलोमिटर यात्रा गरेपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिन्छ । 
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !