२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशकाे विकास गर्न एमाले नै चाहिन्छ -केपी शर्मा ओली

प्रकाशित मिति :  ३ कार्तिक २०७९, बिहीबार १५:११


झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकाे विकास गर्न एमालेले नै चाहिने बताउनुभएकाे छ ।
गृह जिल्ला झापामा बिहीबार आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले इच्छाशक्ति र अठाेट भए देश बनाउन र विकास गर्न सकिँदाे रहेछ भन्ने कुरा आफूले पुष्टि गरेकाे बताउनुभयाे ।

इमान्दार भएर लाग्याे भने देश बनाउँन सकिँदाे रहेछ र विकास गर्न सकिँदाे रहेछ भन्ने कुरा आफूले ३ वर्षमा राम्राेसँग अनुभव गरेकाे उहाँकाे भनाइ छ । अध्यक्ष ओलीले इमान्दार भएर नेतृत्व लाग्ने हाे भने जमिन, प्रकृति र भूगाेल सबैकाे विविधता भएकाे र आफैंमा जीवनमय रहेकाे देशलाई बनाउन सकिने बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘इमान्दार भएर नेतृत्व लाग्ने हाे भने देश बनाउन सकिन्छ भन्ने कुरा, २ वर्ष काेभिडले थला पार्दापनि, करिब ३ वर्ष प्रधानमन्त्री भएर चलाउँदा, देश बनाउन मजाले सकिन्छ भन्ने मैले अनुभव गरेँ ।’

नेपालले दबेर बस्ने र विश्वका अघि शीर झुकाउनुपर्ने कुनै कारण नरहेकाे कुरा पनि आफूले पुष्टि गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘म प्रधानमन्त्री हुँदा देशले एउटा आशा र विश्वास पायाे, देश बनाउन सकिने रहेछ, विकास गर्न सकिने रहेछ भन्ने पुष्टि भयाे, यसका लागि एउटा अठाेट चाहिँदाे रहेछ त्याे मैले गरेँ, जनताले भाेगेका तमाम समस्या समाधान गर्न सकिन्छ,उर्बर धर्ती सिंगार्न सकिन्छ, अलिकति मेहनत गर्नुपर्छ, केही वर्ष लाग्छ, केही वर्षभित्र विश्वकै नमुना देश बन्छ, आफूले दबेर बस्नुपर्ने, विश्वका अघि शीर निहुराउनुपर्ने कुनै आवश्यकता छैन ।’

आफूले सरकारमा छँदा कुनै पनि याेजनाका लागि पैसा छैन भनेर हिचकिच नगरेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मेराे समयमा मैले पैसा छैन भनिनँ,देशभर भूकम्पपीडितका ७ लाख बढी पक्की घर बनाएर हस्तान्तरण गरेँ, हजाराैं सरकारी भवन, सेनाकाे प्रधान कार्यालय देखि लिएर ठूलाठूला संरचना बनायाैं, संसद् भवन थिएन हामीले सुरु गर्‍याैं, रंगशालाहरु बने,राजमार्गहरु बने ।’

अस्पताल, विद्यालय, क्याम्पस, विजनेस कम्प्लेक्स बनाएकाे भन्दै उहाँले यसबाट तीब्र गतिमा विकास गर्न सकिँदाे रहेछ भन्ने पनि पुष्टि भएकाे बताउनुभयाे ।

झापाबासीका जनताकाे निर्णयले आफू सरकारकाे नेतृत्व गर्ने ठाउँमा पुगेकाे समेत अध्यक्ष ओलीले स्मरण गर्नुभयाे । ‘यस क्षेत्रका जनताकाे निर्णयले राष्ट्रलाई सही बाटाेमा अगाडि बढाउन, देशलाई शान्तिकाे बाटाे सुशासनकाे बाटाे भ्रष्टाचार नियन्त्रणकाे बाटाे विकासकाे बाटाे कस्ताे हुन्छ भन्ने माैका मिलेकाे छ’- उहाँकाे भनाइ छ ।

नेपालमा गरिबी कसरी हटाउने, राेजगारीकाे सृजना कसरी गर्ने, उद्यमशिलताकाे विकास कसरी गर्ने,जनताकाे जीवस्तरमा कसरी परिवर्तन ल्याउने, सुकुम्बासी समस्याकाे समाधान गर्ने, विकास निर्माणका प्रश्नहरु कसरी अगाडि बढाउने यी तमाम प्रश्नहरुमा एमालेले द‍ृष्टिकाेण र विचार राख्ने उहाँले बताउनुभयाे ।

त्यसबीचमा औपनिवेशिक युग आएपछि भारत र चीन उपनिवेशकाे जञ्जिरमा बाँधिदा नेपाल दुई ढुंगाकाे तरुल भएर बस्नुपरेकाे उहाँले स्मरण गर्नुभयाे । साेही कारण विगतमा प्रगति हुन नसकेकाे भन्दै उहाँले अहिले त्यस्ताे युग नभएर स्वतन्त्र युगमा प्रवेश गरिसकेकाे बताउनुभयाे ।

देशकाे पुरानाे गाैरवपूर्ण इतिहासलाई सम्झिँदै विकासकाे बाटाेमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे । विकासलाई अगाडि बढाउन सरकार राम्राे सरकार चाहिने अध्यक्ष ओलीले बताउनुभयाे । भ्रष्टाचार नगर्ने, विकासका लागि काम गर्ने सरकार बनाउनुपर्ने भन्दै उहाँले भ्रष्टाचार नगर्ने विकासका लागि काम गर्ने,सबै जनताकाे संरक्षक भएर काम गर्ने पार्टी एमाले बाहेक अरु काेही नभएकाे प्रष्ट पार्नुभयाे ।

एमालेले के गर्छ भन्ने कुरा व्यवहारमा देखाइरहेकाे भन्दै उहाँले कात्तिक १५ गतेसम्म चुनावी घाेषणापत्र जारी हुने बताउनुभयाे । एमाले विरुद्ध भ्रम फैलाउनेहरु,जनतालाई अल्मल्याउन खाेज्नेहरु गाउँगाउँ पस्न सक्ने भन्दै अध्यक्ष ओलीले भ्रममा नपर्न र सचेत सबै नेता-कार्यकर्ताला आग्रह गर्नुभयाे ।

एमालेकाे उद्देश्य देश बनाउनुभएकाे भन्दै उहाँले हिमाल,चट्टान,हिमताल, नदीनाला, बाेटबिरुवा, जडिबुटी सबै थाेक भएकाे देश नेपाललाई बनाउने अभियानमा एमाले लाग्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !