पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हाे-राष्ट्रपति भण्डारी
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्नुभएकाे छ ।
नेपालीहरूको दाेस्राे महान् चाड तिहारकाे अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि भएकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ – ‘पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो, त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ, उज्यालो आफैमा प्रेरणाको विम्ब हो, दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना गर्दछु ।’
तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास पनि राष्ट्रपति भण्डारीले व्यक्त गर्नुभएकाे छ ।
उहाँले विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएकाे छ ।
कात्तिकक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको ठूला चाडहरूमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको राष्ट्रपतिले उल्लेख गर्नुभएकाे छ ।
‘यमपञ्चकको रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार‚ कुकुर तिहार‚ गाई तिहार‚ गोरु तिहार र भाइ तिहार जस्ता विशिष्ट तिहारहरू समेटिएका छन्, यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरंगी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी भैलो खेल्ने परम्परा छ’-राष्ट्रपतिकाे सन्देशमा उल्लेख छ ।
तिहार पर्वले एकातिर प्रकृति‚ मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने र अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउने पनि राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएकाे छ ।
तिहारका असल परम्परा र अभ्यासलाई कायम राख्दै भड्किलोपन र खर्चिलोपन तथा नकारात्मक पक्ष हटाउँदै जानुपर्ने उहाँकाे सुझाव छ । ‘तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ, यस प्रकारका असल परम्परा र अभ्यासलाई हामीले जोगाउनु पर्दछ, तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा-तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमश: हटाउँदै जानु पर्दछ’-राष्ट्रपतिले लेख्नुभएकाे छ ।