ब्याजदर घटाउँदै वाणिज्य बैंक
काठमाडाैं । वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।
हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् ।
बैंकर्स सङ्घको अध्यक्षमा केसी
बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन हुनुभएको छ । बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन हुनुभएको हो ।
यसअघि केसी सङ्घको उपाध्यक्ष रहनुभएको थियो । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन हुनुभएको छ ।
यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा हुनुहुन्छ ।
–रासस