२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन नेपालगञ्जमा

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार ११:०३


काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन नेपालगञ्जमा हुने भएको छ ।

संघका अध्यक्ष किरण पौडेलको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्ययतामा माघ २ गते सम्पन्न पदाधिकारीको पूर्ण बैठकले सो निर्णय गरेको युवा संघले जनाएको छ । युवा संघले मातहतका कमिटीलाई सर्कुलर जारी गरी तयारीमा लाग्न निर्देशन दिएको छ ।

बैठकले वर्तमान समसामयिक राजनीतिक परिस्थिति तथा सन्दर्भ केन्द्रित संघका धारणा पनि अघि सारेको छ । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै संघको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको सर्कुलरमा उल्लेख छ ।

संगठनको सुदृढीकरण तथा व्यवस्थित र प्रभावकारी परिचालनको सवालमा महत्त्वपूर्ण प्रस्ताव समेत पारित गरेको अध्यक्ष पौडेलले जारी गर्नुभएको सर्कुलरमा जनाइएको छ । आ–आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ सिर्जनात्मक र प्रभावकारी ढङ्गले सर्कुलर लागू गर्न गराउनुहुन मातहत कमिटीलाई संघले निर्देशन दिएको छ ।

बैठकले संघको केन्द्रीय कमिटीको बैठक माघ १९ र २० गते मकवानपुरको हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ ।

यसै गरी केपी ओली रनिङ कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ११ देखि १५ गतेसम्म गर्ने बैठकले निर्णय गरेको छ । केन्द्रीय कमिटीको आयोजनामा सम्पन्न हुने उक्त प्रतियोगिताको व्यवस्थापक केन्द्रिय खेलकुद विभाग रहने छ । प्रतियोगिता सम्पन्न गर्न संघका महासचिव क्षितिज थेबे संयोजक र खेलकुद विभाग प्रमुख सम्राट गौचन सहसंयोजक रहने तयारी समिति गठन गरिएको छ ।

बैठक विश्व प्रजातान्त्रिक युवा संगठनको एसिया प्यासिफिक रिजनल बैठक आगामी मार्च महिनामा काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको छ । उक्त बैठक सम्पन्न गर्न संघका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख अमित लामाको संयोजकत्वमा तयारी समिति निर्माण गरिएको छ ।

चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारलाई विजयी गराउन संघका उपाध्यक्ष सन्तोष रावल संयोजक र युथ फोर्स प्रमुख पुष्पराज श्रेष्ठ सहसंयोजक रहेको सहयोग समिति गठन गरिएको छ । संघको महाधिवेशन सचिवालय व्यवस्थापन, महाधिवेशन लोगो, स्लोगन, मञ्च, गेट डिजाइनको संयोजन गर्न संघका उपमहासचिव रमेश तिवारीलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । संगठनको आगामी कार्यभार, लक्षित समुदाय र संगठन निर्माणको आधारका विषयमा प्रस्ताव तयार पार्न उपाध्यक्ष कृष्णहरि केसीलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !