५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इमर्सन एकेडेमी जाे पढाउँछ पर्यटक प्रहरीलाई निःशुल्क चिनियाँ भाषा

प्रकाशित मिति :  २० माघ २०७९, शुक्रबार ०८:१३


काठमाडौं । इमर्सन म्यानडरिन एकेडेमी (आईएमए)ले नेपाली प्रहरीका पर्यटक प्रहरीहरूलाई निःशुल्क चिनियाँ भाषा पढाउन थालेको छ । इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा गत फेब्रुअरी १ बाट एकेडेमीले प्रहरीहरूलाई चिनियाँ भाषा पढाउन थालेको हो ।

एकेडेमीकी निर्देशक प्रमिला तामाङ, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, पर्यटक प्रहरीका डीएसपी सुगन्ध श्रेष्ठ, इस्ट चाइना युनिभर्सिटीका प्राध्यापक सिन लुकाओले कक्षा सञ्चालन शुभारम्भ गर्नुभएको थियो ।

पर्यटक प्रहरीका तर्फबाट लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभराज महतारा र सुनिल श्रेष्ठले पहिलो चरणमा चिनियाँ भाषा सिक्ने भएका छन् ।

नेपाल प्रहरीका पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग कुराकानी गर्न सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको एकेडेमीकी निर्देशक तामाङले बताउनुभयाे ।

यस्तै चिनियाँ पर्यटकले कुनै प्रकारको समस्या भोगेमा त्यसको समाधान गर्न सहज होस् भन्ने अभिप्रायले कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका महानिर्देशक लुइँटेलले चिनियाँ भाषा कक्षाले पर्यटक प्रहरीलाई चिनियाँ पर्यटकसँग सञ्चार गर्न र उनीहरू कुनै समस्यामा परे तत्काल समाधान गर्न सहज हुने बताउनुभयो ।

प्राध्यापक लु काओले चिनियाँ भाषा कक्षाले चीन र नेपालबीचको सञ्चार सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । यस्तै उनले यस कदमलाई आदानप्रदान कार्यक्रमको सुरुआत मात्र भएको र भविष्यमा थप कार्यक्रम गरिने पनि बताउनुभयो ।

कक्षा अवधि दुई महिनाको हुनेछ। चिनियाँ भाषा सिक्ने आएका पर्यटक प्रहरीहरू उत्साही भएको एकेडेमीले जनाएको छ ।

कक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा एकेडेमीका तर्फबाट अनिशा सुयाल मगर, जेस तामाङ र बिनीता गुरागाईँको उपस्थिति थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !