६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभाकाे उपाध्यक्ष: आज चुनाव, उर्मिला अर्याल निर्विरोध हुने निश्चित

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार ०६:५९


काठमाडाैं । राष्ट्रिय सभाकाे उपाध्यक्षको चयनका लागि आज चुनाव हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेर ५९ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकले उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया अघि बढाउनेछ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध हुने निश्चित छ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि उम्मेदवारी दिन तोकिएको समयमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएकाले उहाँ निर्विरोध हुनुहुनेछ ।

आजकाे बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ । प्रस्तावमाथिकाे छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा गरिनेछ । अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ ।

अर्याललाई सत्तापक्षसँगै नेपाली कांग्रेसले पनि समर्थन गरेकाे छ । लामो समयसम्म नेकपा एमालेमा रहेकी अर्यालले दोस्रो संविधान सभा चुनावअघि माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे थियाे ।

हाल ५८ सदस्यीय राष्ट्रिय सभामा माओवादी केन्द्रका १५, एमालेका १५, कांग्रेसका १०, एकीकृत समाजवादीका ८, जनता समाजवादीका ३, लोकतान्त्रिक समाजवादीका १, स्वतन्त्र सदस्य एक, राष्ट्रिय जनमोर्चाका १ र मनोनीत ३ सदस्य छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष चयनपछि बैठककाे अन्य कार्यसूची अघि बढाइनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !