९ पुष २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर’

प्रकाशित मिति :  १६ चैत्र २०७९, बिहीबार ०५:३५


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन गराउन माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गराउन माग गर्नुभएको हो । अनेरास्ववियुले निर्वाचन बिथोल्ने र प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही गर्न समेत माग गरेको छ । ‘राज्य संरक्षित भएर यस्ता खाले कानुन हातमा लिने हर्कत कायम रहे विश्वविद्यालय जोगाउन अनेरास्ववियु अप्रिय कदम उठाउन बाध्य हुनेछ, परिस्थितिले सिर्जित परिणामको जिम्मेवार स्वयम नेपाल सरकार हुनेछ’, अनेरास्ववियुले चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६२ आङ्गिक क्याम्पस मध्ये ४५ आङ्गिक क्याम्पस र करिब ३ सय सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएर परिणाम आउँदा अनेरास्ववियु पहिलो भएको विज्ञप्तिमा उल्लेख छ । बाँकी क्याम्पसको पनि यथाशीघ्र निर्वाचन पक्रिया अघि बढाउन अनेरास्ववियुले माग गरेको छ ।

विश्वविद्यालयको स्ववियु निर्वाचन गर्न बाँकी आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सम्पन्न गर्न सहजीकरण गर्ने उद्देश्यले अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको नेतृत्वले छलफल गरी विश्वविद्यालयको निर्वाचन निर्देशिका बमोजिम १० दिन भित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सहजीकरण गर्न त्रिवि उपकुलपति समक्ष अनुरोध गर्नको निम्ति आवश्यक भेटघाटको समय माग उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटासँग बसिरहेको अवस्थामा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको अराजक समूहले बैठक हल भित्र प्रवेश गरी उपकुलपतिसँग आउनुभएका त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहनु भएका सहप्राध्यापक पशुपति अधिकारी माथि अपशब्द बोल्दै पानीको बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको घटना प्रति अनेरास्ववियु खेद प्रकट गरेको छ । ‘पराजित मानसिकताबाट गरिएका यस्ता हर्कतले उक्त संगठनको निर्वाचन प्रतिको असलियत नाङ्गिएको छ’, विज्ञप्ति लेखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !