२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

प्रकाशित मिति :  १२ श्रावण २०८०, शुक्रबार ०६:१५


काठमाडाैं । यस वर्ष काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ३.६१ देखि ४.० ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको छ ।

गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ जनाले ३.६१ देखि ४.० ल्याएका थिए । यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० छात्रछात्राले ३.६१ देखि ४.० ल्याएका छन् ।

आवेदकमध्ये गत वर्ष १२५ जना गयल भएका थिए । यसवर्ष ५० जना गयल भएका छन् । यो तथ्यांकबाट के देखिन्छ भने उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरु नियमित हुन थालेका छन् । आफूहरुले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समय सापेक्ष र व्यावहारिक भएको पुष्टि भएको महानगर प्रमुख बालेन्द्र शाह बालेनले उल्लेख गर्नुभएकाे छ ।

गत वर्ष ३.२१ देखि ३.६० ल्याउने छात्रछात्राको संख्या ३२५ जना थियो । यस वर्ष ४८६ पुगेको छ । यो ५१% वृद्धि दर हो । गत वर्ष ६९७ जनाले २.८१ देखि ३.२१ मा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ जनाले २.८१ देखि ३.२१ ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष २.४१ देखि २.८० ल्याउने विद्यार्थीको संख्या ९६६ थियो । यस वर्ष ९७४ पुगेको छ ।

गत वर्ष १००४ को २.०१ देखि २.४० आएको थियो । यसवर्ष २.०१ देखि २.४० ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ पुगेको छ । यसको घट्दो प्रतिशत (८ %) हो । यससँगै १.६१ देखि २.० ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गत वर्ष यस ग्रेडमा ६२० जना उत्तिर्ण भएका थिए । यस वर्ष ४३५ मा घटेको छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्यांकले देखाएको छ ।

गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गरिएकाे मेयर शाहले उल्लेख गर्नुभएकाे छ । ‘गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्‍यौँ, उहाँहरुको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन, बाहिर समग्र रूपमा वृद्धि भएको छ’- उहाँले उल्लेख गर्नुभएकाे छ ।

मेयर शाहका अनुसार ९० जना शिक्षकलाई १० घण्डे आइसीटी इन एजुकेसन तालिम प्रदान गरिएकाे थियाे । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो ।

प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।

विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थालेकाे मेयर शाहकाे ठहर छ । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थालेकाे पनि उहाँले उल्लेख गर्नुभएकाे छ । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षाफलमा बिम्वित भएको मेयर शाहले उल्लेख गर्नुभएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !