२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

युएईको सेक्यूरिटी कम्पनीमा २५ नेपाली बन्धक अवस्थामा, लाखौं भुक्तानी पाउन बाँकी

प्रकाशित मिति :  २५ श्रावण २०८०, बिहीबार १०:१६


काठमाडाैं । संयुक्त अरव ईमिरेट्स (युएई) को अबुधाबी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिस र नाईट्स बृज ग्लोबल सेक्युरिटी कम्पनीले २५ नेपाली युवालाई उनीहरुले पाउनु पर्ने तलव, ओभरटाइम वापतको रकम र ईन्ड अफ सर्भिस (उपादान) को रकम समेत नदिइ बन्धक अवस्थामा राखेको छ ।

सेक्यूरिटी गार्डको रुपमा काम गर्ने उनीहरुलाई कम्पनीले विभिन्न समयमा राजिनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको हाे ।

अल फलाह र नाईट्स बृजले विभिन्न समयमा राजिनामा दिन बाध्य पारेर उनीहरुलाई १० महिना देखि विभिन्न वहाना र झूठो आश्वासन दिइ आबुधावीको मफ्रक, चाईना क्याम्प, वर्कर सिटी -२ स्थित अल ईशोस् भिलेज नामको क्याम्पमा राखेको छ । त्यहाँ राखिएका मध्ये कतिपयको भिसाको अवधि सकिएका कारण ‘ओभरस्टे’ भएर हिंड्डुल गर्न असमर्थ भएको, जरिवाना सुरु भएको भन्दै आफूहरुले पाउनु पर्ने रकम दिलाइ दिन २५ जना नेपालीले आबुधावी स्थित नेपाली दूतावासमा गत अगष्ट ३ तारिखमा पुन: निवेदन दिएका छन् । उनीहरुले कम्पनीले १० महिनासम्म विना काम क्याम्पमा बन्दी बनाइ राखेको हुँदा त्यसको क्षतिपूर्ति समेत दिलाइ दिन आग्रह गरेका छन् ।

क्याम्पमा रहेका ति नेपालीका अनुसार अल फलाह र नाईट्स बृज ग्लोबल सेक्युरिटी दुबईमा दर्ता गरेको कम्पनीको मालिक जाएद फलाह हामुद जराह अल कतानीले चलिरहेको २ कम्पनीलाई योजनावद्ध रुपमा बन्द गराई निजकै भाइको नाममा अर्को नयाँ सेक्यूरिटी कम्पनी नाईट्स बृज ग्लोवल सेक्यूरिटी आबुधावीमा दर्ता गरेको र पुरानो दुबईमा दर्ता गरेको २ कम्पनीहरु अल फलाह र नाईट्स बृज ग्लोवल सेक्यूरिटीमा काम गर्ने श्रमिकहरुलाई दिनुपर्ने रकम नदिइ नयाँ कम्पनीमा काम गर्न दवाव दिएको छ ।

नयाँ कम्पनीमा काम सुरु गर्न अल फलाहमा काम गर्ने श्रमिकहरुसँग भिसा वापत प्रति व्यक्ति ४५ सय दिराम (लगभग नेरु १ लाख ६२ हजार) जबर्जस्ती तिर्न भनिएको छ । उपदान वापतको रकम नलिई नयाँ कम्पनीमा आवद्ध नहुने भएमा राजिनामा दिन कम्पनीले दवाव दिएको छ ।

कम्पनीको दवावकै कारण आफूहरुले बाध्यतावस राजिनामा दिएको उनीहरुको भनाई छ । सो कम्पनीमा नेपाली बाहेक पाकिस्तान, फिलिपिन्स, भारत लगायतका मुलुकका गरी १ सय ५० जनाको हाराहारीमा यहि अवस्थामा छन् ।

आफूहरुले पाउनु पर्ने रकम माग गर्ने श्रमिकहरुलाई कम्पनीले तर्साउने गरेको, महिनौंसम्म झुलाउने गरेको भन्दै ति नेपालीले गत फागुनमा पनि नेपाली दूतावासमा निवेदन दिएका थिए । तर त्यसको सुनुवाई नभएको भन्दै उनीहरुले पुन: निवेदन दिएका हुन् । यस बीचमा अल फलाहले ‘म्यारियम अहमद सालीम ल अफिस नामको वकिल / अधिवक्ताहरुको कम्पनीलाई यो विषय सुल्झाउने जिम्मेवारी दिएको र सो कम्पनीले कानुनी झण्झटको त्रास देखाएर १० जना नेपालीलाई विना कुनै रकम नै नेपाल फर्काएको पीडितहरुले नेपाली राज दूतावास, अबुधाबीमा बुझाएको निवेदनमा उल्लेख छ ।

कम्पनीका कारण आफूहरु मानसिक त्रासमा बस्नु परेको, भिसाको अवधि सकिन थालेका कारण थप संकट सिर्जना भएको भन्दै उनीहरुले गत अगष्ट ३ तारिखका दिन पुन: निवेदन दिएका हुन् । त्यसरी राखिएका मध्ये केहिको भिसाको अवधि सकिइसकेको छ । यस अगाडी सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको पत्र पठाउँदै आफूहरुले पाउनु पर्ने रकम दिलाइ दिन आग्रह गरेका थिए ।

सो कम्पनीमा १२ बर्ष अघि देखि काम गरेका नेपालीहरु छन् । उनीहरुले काम छोडेर स्वदेश फर्किदा पाउनु पर्ने रकम ठूलो छ । सो रकम नदिन अल फलाहले बदमासी गरेको समस्यामा परेका नेपाली श्रमिकहरुको गुनासो छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !