३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ट्रेड युनियनकाे अधिकार कटौती गर्दैनौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  २२ भाद्र २०८०, शुक्रबार ०९:५३


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवासम्बन्धी विधेयक चाँडाे भन्दा चाँडाे सदनबाट पारित गर्ने बताउनुभएको छ ।

२०औं निजामती सेवा दिवस, २०८० का अवसरमा शुक्रबार सिंहदरबार आयाेजित निजामती सेवा दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले विधेयक सदनमा पेस गर्ने निर्णय गरिसकेकाे बताउनुभयाे । राजनीतिक दलहरूको सहमतिबाट संसद्ले साे विधेयक यथाशक्य छिटो पारित गर्ने उहाँकाे भनाइ थियाे ।

प्रधानमन्त्री प्रचण्डले नयाँ विधेयकमा ट्रेड युनियनको विद्यमान व्यवस्था र अधिकारलाई कुनै परिवर्तन नगरिएको जानकारी दिनुभयो ।

उहाँले देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र संक्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनका निम्ति संघर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताउनुभयो ।

उहाँले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको बताउनुभयाे ।

संविधानको मूल मर्म र भावनालाई आत्मसात् गरी संघीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधार साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेकाले यसका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध आवश्यक रहेको उहाँकाे भनाइ थियाे ।

प्रधानमन्त्री प्रचण्डले भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोस रूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने बताउनुभयो । कार्यक्रममा उत्कृष्ठ निजामती कर्मचारीहरुलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कृत गर्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !