६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ठिक बोले चिनियाँ राजदूतले, धन्यवाद चिनियाँ राजदूत

प्रकाशित मिति :  २४ भाद्र २०८०, आईतवार ०९:२१


-सुन्दर कार्की

अहिले नेपालका लागि चीनका राजदूतको व्यापक चर्चा भइरहेको छ । राजदूतलाई विवादमा तान्न एकथरी राजनीतिक तथा खुफिया शक्तिहरु भिडेर लागेका छन् । उनीहरुका अनुसार चिनियाँ राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरे, उनले सार्वभौमिकतामै हमला गरे । अहिले चीन र चिनियाँ राजदूतलाई गाली गर्ने प्रतियोगिता जस्तै चलिरहेको छ । जसले जति चर्केर गाली गर्छ उसले त्यति ठूलो पुरस्कार पाइने जस्तै गर्दैछन् ।

चीन र चिनियाँ राजदूतलाई गाली बक्दा पुरस्कार के पाइन्छ थाहा छैन तर अहिले संगठित रुपमा अभियान नै चलाइएको छ ।

यसरी चिनियाँ राजदूतलाई विवादमा तान्नेहरु चार प्रकारका छन् –

१) भारतले लगाएको नाकावन्दीका बेला दसगजामा धर्ना बसेर भारतलाई सघाउनेहरु अहिले चिनियाँ राजदूतको विरोध गरिरहेका छन्, चिनियाँ राजदूतलाई देश निकाला गर्नुपर्छ भनिरहेका छन् । नाकावन्दीका बेला दसगजामा बसेर नेपालतिर ढुंगा हान्नेहरुले अहिले चिनियाँ राजदूतलाई गालीको ढुंगा हानिरहेका छन् ।

२) तोते बोली भएकाहरु नेपाली राजनीतिमा कतिपय शक्ती यस्ता छन् उनीहरु शिशुले जसरी तोतेबोली बोल्छन् । उनीहरु प्रष्ट उच्चारण गर्न सक्दैनन् । जस्तो कि, उनीहरु ‘नाकावन्दी’ शब्द उच्चारण गर्न सक्दैनन् । मानौं, उनीहरुको शब्दकोषमा नाकावन्दी शब्द नै छैन । यस्ता शक्तिले बोल्न नसक्ने अनेक कुरा छन्, भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्दा तथा भारतले नेपालको सीमा मिच्दा उनीहरु बोल्नै सक्दैनन् । कसैले प्रश्न सोध्यो भने शिशुले जसरी तोते बोली बोल्छन्, ताकि आफूले बोलेको कसैले नबुझोस् । यस्ता तत्वहरुको अर्काे विषेशता के भने यिनले ‘जय नेपाल’ उच्चारण गर्दा ‘बन्दे मातरम्’ भनेजस्तो सुनिन्छ ।

३) नेपालमा एकथरी मानिस यस्ता छन् जसले जेमा पनि षडयन्त्र देख्छन् । नेपालको विकास र राजनीतिक स्थिरताका विरोधी यस्ता मानिसको नागरिकता नेपालकै हुन्छ तर काम भने उदेकलाग्दो हुन्छ । जसरी पनि नेपालको विरोध गर्ने, जसरी पनि देशलाई अप्ठेरोमा पार्ने, जसलाई पनि गाली बक्ने यस्ता पात्रहरु अहिले चीन र चिनियाँ राजदूतका विरुद्ध खनिएका छन् । यस्ता पात्रहरुको काम हो, जहाँ जसरी मौका पाइन्छ, जसका विरुद्ध पनि गाली बक्ने ।

४) भारतमा छ टाइम्स अफ इण्डिया पत्रिका । यसले चीन र पाकिस्ताको खोइरो खन्छ, ती विरुद्ध भ्रम फैलाउँछ । भारतीय संस्थापनको मुखपत्र मानिन्छ टाइम्स अफ इण्डियालाई । अचम्म के छ भने नेपालमा पनि टाइम्स अफल इण्डियाहरु छन् । यद्यपी नाम भने फरक छ । भारतीय टाइम्स अफ इण्डियाले जस्तै यहाँकाले भ्रम फैलाउने काम गर्छन्, अर्थात्, नेपालमा चीन र पाकिस्तान विरुद्ध भ्रम फैलाउने भ्रान्तिपुर र त्यसका ग्याङले अहिले चीन र चिनियाँ राजदूत विरुद्ध खोइरो खनिरहेका छन् ।

अब चर्चा गरौं चिनियाँ राजदूतको अहिले खोइरो खन्नुको कारण के हो भन्ने बारेमा ।

चिनियाँ राजदूतले गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषण गरे । विद्युत व्यवसायीहरुले कार्यक्रम गरेका थिए । विद्युतका बारेमा आयोजित कार्यक्रममा राजदूतले अन्तरिक्ष यान बारे कुरा गर्नुको अर्थ थिएन, नेपाली क्रिकेट बारे बोल्नु पनि भएन, बोल्न पर्यो विद्युत व्यापारकै बारेमा । राजदूतले नेपालको विद्युत व्यापार बारे बोले । नेपालमा राजदूत भएर बसेपछि कुनै पनि राजदूतको धर्म हुन्छ, नेपालको भलाई सोच्ने । चिनियाँ राजदूत हुन् या अमेरिकी राजदूत, उत्तर कोरियाका राजदूत हुन् या वेलायती राजदूत, उनीहरुको औपचारिक काम नै नेपालको भलाई गर्ने हो ।

चिनियाँ राजदूतले पनि नेपालको भलाईका बारे बोले । उनले विद्युत व्यापारमा नेपालले घाटा खाइरहेको बताए । नेपालले विद्युत व्यापार भारतसँग मात्र गर्छ । भारतसँगको व्यापारमा नेपालले कसरी घाटा खाइरहेको छ भन्ने बारे राजदूतले बोल्न हुँदैनथ्यो रे । त्यसो भए नेपालले घाटा खाएकोमा राजदूतले खुसी प्रकट गर्नुपथर््यो त ?

नेपाललाई यसरी व्यापार गर र उसरी व्यापार गर भन्दै विश्व बैंक, अन्तराष्टिय मुद्रा कोष लगायतले ठाडो निर्देशन दिने गरेको छ । चिनियाँ राजदूतले त्यसरी निर्देशन दिएका थिएनन्, उनले त नेपालले यसरी घाटा खाइरहेको छ भनेर औंल्याइदिए अनि विद्युत सहित कृषिमा नाफामा जान सल्लाह दिए ।

चिनियाँ राजदूतले नेपालको भलो चिताउँदा, भलो हुने कुरा गर्दा हस्तक्षेप हुन्छ र ? नेपालले फाइदामा जाने गरी विद्युत व्यापार र कृषि व्यापार गर्नु राम्रो हुन्छ भन्नु कसरी हस्तक्षेप हुन्छ ?

नेपाल र भारतको व्यापारमा भारतले एकलौटी गर्ने गरेको छ । भारतले आफू अनुकूलको नीति बनाएर नेपाललाई लुटिरहेको छ । वास्तवमा चिनियाँ राजदूतको अभिव्यक्तिले भारतको चाहिँ धोती खुस्किएको छ । चिनियाँ राजदूतले भारतको धोती खुस्काउँदा भारतीयहरु आक्रोशित हुनु स्वाभाविक हो तर एकथरी नेपाली चाहिँ किन आक्रोशित भएका हुन् ? बुझिनसक्नु भएको छ ।

चिनियाँ राजदूतको अभिव्यक्तिमा त्यस्तो आपत्तिजनक केही पनि छैन । तर, आपत्तिजनक अभिव्यक्ति भन्दै कोकोहोलो मच्चाइएको छ । कतिसम्म भने शेरबहादुर देउवाको पार्टीको भ्रातृ संगठनत चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न समेत पुग्यो ।

चिनियाँ राजदूतको अभिव्यक्ति जति नियालेर बुझ्यो त्यति नेपालको हित र पक्षमा देखिन्छ । नेपालको हित र पक्षमा नेपालमा रहेका राजदूतले बोल्नु कसरी कूटनीतिक मर्यादा विपरित हो ? नेपाल देशको विरुद्धमा बोलेको भए कूटनीतिक मर्यादा विपरित हो, तर, नेपालको पक्षमा बोल्दा कसरी मर्यादा विपरित ?

बरु, नेपालमा रहेका सबै देशका राजदूतले चिनियाँ राजदूतले जसरी नै नेपालको पक्षमा बोल्नुपर्छ । किन अरु देशका राजदूत नेपालको हितमा बोल्दैनन् ? खोज्नुपर्ने कुरा त यो हो । नेपालको हित हुने कुरा बोल्नुपर्छ । नेपालको भलाईका लागि तीतो सत्य बोल्ने चिनियाँ राजदूतलाई धन्यवाद भन्नु त कता हो कता उल्टै गालीको वर्षा गर्ने तत्वहरुको नियत के हो ? नेपाली जनताले बुझ्नुपरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !