११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषिकाे आधुनिकीकरण र व्यवसायिकरणका लागि सहकारी महत्वपूर्ण हुन्छ-केपी शर्मा ओली

प्रकाशित मिति :  ७ फाल्गुन २०८०, सोमबार १२:२८


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि अनिवार्य र अपरिहार्य रहेकाे सहकारी क्षेत्रमा गैरसहकारी व्यक्तिहरु प्रवेश गरेकाे बताउनुभएकाे छ ।

नेपाल निजामति कर्मचारी संगठनकाे अभिभाकत्वमा सञ्चालित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुकाे पाँचाै राष्ट्रिय सहकारी भेलाकाे उद्घाटन समाराेहलाई साेमबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले देशकाे विकासका लागि सहकारी आवश्यक भएपनि केही व्यक्तिहरुले यसलाई बदनाम गराइरहेका बताउनुभयाे ।

कृषिकाे आधुनिकीकरण र व्यवसायिकरणका लागि सहकारी महत्वपूर्ण हुने अध्यक्ष ओलीले बताउनुभयाे । गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी धन्दा गर्ने काम गरेका कारण सहकारीहरु बदनाम भएका उहाँले बताउनुभयाे । अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘यतिबेला नेपालमा गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरे, जसलाई चाहिएकै छैन तिनीहरु सहकारीमा प्रवेश गरे, जसले सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शाेषणकारी त्यस ढंगले ठगीधन्दाकाे रुपमा सहकारीलाई प्रयाेग गर्न खाेजे, धेरै मानिसलाई डुबाए आफू बदनाम भए, केही मानिसले पैसा कमाए हाेलान्, इज्जत गुमाए हाेलान् यसरी सहकारी क्षेत्र एक अर्थमा भन्ने हाे भने बदनाम भइरहेकाे छ ।’

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुले सञ्चालन गरेका कुनै पनि सहकारी समस्याग्रस्त नभएका, नडुबेका, ठगीमा नपरेका र कसैले पनि ठगी धन्दा नचलाएका सुनिएकाे भन्दै उहाँले बधाई दिनुभयाे । ससाना पुँजी संकलन गरेर क्रियाशिल हुनुपर्ने सहकारी क्षेत्र नियमसंगत हुनुपर्ने बताउनुभयाे । त्यसाे हुन नसके सहकारी डुब्ने पनि उहाँले बताउनुभयाे ।

सहकारी आवश्यक नभएकाहरु सहकारीमा लागेकाले सहकारीहरु संकटमा परेका समेत अध्यक्ष ‌ओलीले बताउनुभयाे । नेपालमा सहकारीकाे विपक्षमा रहेकाहरु सहकारीमा, सहकारीमा आवश्यकता नभएकाहरु सहकारीमा, सहकारी हुँदै नभएकाहरु सहकारीमा लाग्न केही सहकारीहरु संकटमा परेका उहाँले बताउनुभयाे ।

ठूला सहकारीले ठूलाे रकम डुबाएका कारण मानिसहरुमा सहकारीप्रति आशंका उब्जिएकाे अध्यक्ष ओलीले बताउनुभयाे । सहकारीमा संकट आउनुमा पुँजीपतिले हात हाल्नु प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘पुँजीपतिले त उद्याेग व्यवसाय चलाउने हो सहकारी होइन, तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो, सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र संगठनहरू सहकारीको पक्षमा हुन्छन्, यसकाे विपक्षमा रहेकाहरु विपक्षमा हुन्छन् ।’

राष्ट्रसेवक सहकारी संस्था लिमिटेडले राष्ट्रसेवककाे दायरामा रहेर र विकासकाे सहयाेगीकाे रुपमा सहकारीलाई सदुपयाेग गर्न दिनेगरी सञ्चालन गर्न उहाँले सुझाव दिनुभयाे । राष्ट्रसेवक सहकारी संस्था लिमिटेडमा जाेडिएका सहकारीले व्यवसायिहरुलाई तालिम, किसानलाई तालिम, प्रविधिकाे प्रयाेग, उत्तम प्रतिफल दिने लगायत काम गर्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

सहकारी व्यक्तिमुखी नभएर सहकार्यमुखी हुनुपर्ने भन्दै उहाँले सहकारी पुँजीवादभित्र नभएर सामाजिकवादभित्र पर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !