२३ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन सरकारको एक मात्र एजेण्डा एमालेको बदनाम गर्नु हो : केपी ओली

प्रकाशित मिति :  ८ फाल्गुन २०८०, मंगलवार १०:३६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे सत्ता गठबन्धन पूर्ण रुपमा असफल भएकाे बताउनुभएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि सुरु भएकाे पार्टीकाे केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले भन्नुभयाे – ‘याे गठबन्धन पूर्ण रुपमा असफल भयाे ।’

सरकारकाे १ वर्षका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै केही पनि गर्न सकिएन अब गर्छु भनेर नै यसकाे पुष्टि गर्नुभएकाे समेत उहाँले बताउनुभयाे । सरकारकाे असफलताका कारण देश गरिबी र अराजकतातर्फ गइरहेकाे, जनतामा असन्तुष्टि बढ्दाे रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले युवा पलायन भयावह रुपमा बढेकाे र वर्षमा साढे ७ लाख युवा राेजगारीका लागि बाहिरिनु भयावह रहेकाे बताउनुभयाे ।

अहिलेकाे गठबन्धनकाे एक मात्र एजेण्डा एमालेकाे विराेध गर्नु रहेकाे अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे गठबन्धन राष्ट्रियता र सुशासनप्रति कमजोर रहेकाे भन्दै उहाँले यसलाई विकासप्रति चासाे नभएकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘अहिलेकाे गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासन प्रति कमजोर छ, विकासप्रति चासो छैन, चालु आयोजना बन्द छन्, थप याेजना थपिएका छैनन्, अहिलेको गठबन्धनको उद्देश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अघि बढ्न नदिनु हाे, बदनाम गर्नु हाे, एमालेकाे चरित्र हत्या गर्नुहाे, झुटा लाञ्छना लगाएर एमालेलाई कसरी जनताकाे नजरमा गिराउन सकिन्छ त्याे प्रयास गर्नुहाे यस गठबन्धनले गरीराखेकाे छ, यसकाे एउटा मात्रै एजेण्डा हो एमालेकाे विराेध, विकास, सुशासनकाे एजेण्डा छैन, भ्रष्टाचार राेक्ने याेजना छैन ।’

किसान मजदूर र जनताका समस्या समाधान गर्ने याेजना नभएकाे याे गठबन्धन नितान्त एमालेका विरुद्ध केन्द्रित रहेकाे बताउनुभयाे । यस गठबन्धन विरुद्ध लाेकतान्त्रिक तरिकाले शान्तिपूर्ण बाटाेबाट, लाेकतान्त्रिक अभ्यासकाे माध्यमबाट यसलाई पराजित गर्न सकिने बताउनुभयाे ।

गठबन्धनकाे चरित्र बदल्न गत चुनावपछि आफूहरुले नयाँ समीकरण बनाउन खाेजेपनि पुष्पमल दाहाल प्रचण्डका कारण असफल भएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘गठबन्धन अहिले पनि कायमै छ, गठबन्धनकाे चरित्र बदल्नका लागि हामीले निर्वाचनपछि गठबन्धनकाे चरित्र देशकाे, जनताकाे, सुशासनकाे, विकासकाे पक्षमा हाेस्, एउटा समीकरण त बनाउनैपर्‍याे, त्याे समीकरण लम्पसारवादी नहाेस्, एमालेकाेसहभागिताबाट त्यस गठबन्धनलाई फरक दिशामा लैजान सकाैं भनेर हामीले एउटा नयाँ प्रयास गरेका थियाैं तर प्रधानमन्त्री प्रचण्डजीकाे इमानमा अड्न नसक्ने बानीले गठबन्धन भत्कियाे, उहाँले गरेका बाह्य शक्तिसँग बाचा हुँदा हुन् हामीले जान्ने कुरा भएन, तर उहाँले हामीसँगकाे सहमति ताेड्नुभयाे र अर्काे बाटाे लिनुभयाे ।’

गठबन्धन सरकारका कारण जनतामा निराशा र आक्राेश छाइरहेकाे भन्दै अध्यक्ष ओलीले देशभित्र र बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीले जनतामा रहेकाे असन्तुष्टिलाई प्रयाेग गर्न खाेजेका बताउनुभयाे ।

गठबन्धनको असफलताका कारण दक्षिणपन्थीले टाउको उठाउने काम गरेका भन्दै अध्यक्ष ओलीले सक्कली राजतन्त्र २०५८ सालमै राजतन्त्रको अन्त्य भएको बताउनुभयाे । २०५८ पछि ज्ञानेन्द्र शाह कुशको राजामात्रै भएको र त्याे भनेकाे नक्कली राजा भएकाे उहाँले बताउनुभयाे । ०६२-०६३ काे आन्दाेदलकाे रापतापले त्याे कुशकाे राजालाई अन्त्य गरिएकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

केही व्यक्ति आफ्नो दुनो सोझ्याउन राजा ल्याउने भनेर लागिपरेका उहाँले बताउनुभयाे । केही मानिस फेरि राजतन्त्र ल्याउन तम्सिनुमा सत्ता गठबन्धनको असफलता कारक रहेको अध्यक्ष ओलीले बताउनुभयाे ।

देशका लागि काम गर्ने काेही छैन भनेर एमालेकाे विराेध गर्नु गठबन्धनकाे ठूलाे अपराध भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘जनताले फालेकाे राजतन्त्र फेरी ल्याउने मिठाे सपना र मिठाे कल्पना बाेकेर केही मानिसहरु आफ्नाे दुनाे साेझाउन लागेका छन्, खासगरी गठबन्धनकाे असफलताले, दलहरुप्रतिकाे वितृष्णाले नयाँ शक्ति स्वतन्त्र भन्दै जन्मिए, सरकारमा हुने गठबन्धनवालाले काम गर्न सकेनन्, गठबन्धनको क्षमता नहुनु एउटा कुरा हो, एमाले त जनताकाे बीचमा बलियाे शक्ति थियाे नि, तर जानीबुझी अर्को अपराध एमालेलाई खुइल्याएर, होचो देखाएर आफू अग्लाे देखिने जुन षड्यन्त्र गठबन्धनका पार्टीले गरे र एमाले विरुद्ध झुठा, जालीझेली, आराेप प्रचार अभियान चलाए, जनतामा देशका लागि काम गर्ने काेही छैन भन्ने भाष्य निर्माण गर्ने काम यस गठबन्धनले गरेकाे छ, याे गठबन्धनकाे ठूलाे अपराध हाे एमाले ।’

गठबन्धनकाे असफलताका कारण धर्मका नाममा, जातका नाममा, पहिचनाका नाममा अनेक प्रकारका साम्प्रदायिक शक्तिहरु खेलेका र सल्बलाउने माैका पाएका अध्यक्ष ओलीले बताउनुभयाे ।

राजनीतिक साेच नभएका मानिस लहडका भरमा राजनीति मैदानमा देखापरेका भन्दै उहाँले याे देशका लागि शुभसंकेत नभएकाे बताउनुभयाे । यस रिक्ततालाई पूर्नेगरी एमाले लाग्नुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

अहिलेकाे गठबन्धन सरकारले भित्रभित्रै साम्प्रदायिक विद्वेष र पहिचानका कुरालाई भित्रभित्र सहयाेग पुराएकाे भन्दै उहाँले कृष्ण सिटाैलाप्रति लक्षित गर्दै गठबन्धनबाट छानिएर आएकाले राष्ट्रिय सभाबाट पहिचानकाे विषय उठाउछु भन्ने लगायत अभिव्यक्ति दिने गरेका बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !