३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा सत्ता समिकरण परिवर्तन, स्तब्ध भारत

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०८:१२


काठमाडौं । नेपालका लागि भारतीय राजदूत तथा पदाधिकारीहरुले आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न चाहे । उहाँहरुले सोमबार बिहान पनि भेट्न चाहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले भेट्ने समय दिनुभएन ।

भारत अहिले चुनावको संघारमा छ । त्यहाँका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष नरेन्द्र मोदी नेपाललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको भन्दै त्यहाँ भोट बटुल्ने काम गरिरहेका छन् ।

तर, उहाँहरुले त्यसो भनिरहेको बेला नेपालमा भने सत्ता समीकरण फेरिएको छ ।

भारतीय जनता पार्टीका नेताहरु तथा भारतीय संस्थापनले नेपाललाई प्रचण्डको नेतृत्वमा चाँडै हिन्दू राष्ट्र बनाउने भन्दै थिए । तर, यता नेपालमा भने खेल अर्कै चलिरहेको थियो । भारतले चाहे अनुसारको, भारतले रुचाएको सत्ता समीकरण रातारात भत्किएको छ ।

मोदी नेतृत्वको सरकारले आगामी चुनाव जित्ने आधार छिमेकी देशहरुका बारेमा लिइएको नीतिलाई पनि बनाउँदै आएको थियो । तर, छिमेक मामिलामा भारत तथा भारतीय जनता पार्टी पूर्ण असफल बन्दै आइरहेको छ । छिमेकी माल्दिभ्समा भारतले चाहेको भन्दा विपतिर सरकार बन्यो । पाकिस्तान पनि बलियो बन्दै गएको छ । उता, बंगालदेशमा आवामी लीगले चुनाव जिते पनि त्यहाँको सरकार भारतले जसो भन्यो उसो गर्ने लाइनमा छैन । श्रीलंकामा भारतले चाहे अनुसारको सरकार त बन्यो तर सरकार बनेपछि त्यहाँका नेताहरुले भारतले लाए अह्राए बमोजिमको काम गर्न मानिरहेका छैनन् । यस्तो बेला मोदी सरकारले नेपालमा हाम्रा लागि कम्फर्टेबल सरकार बनेको छ भनेर देखाउने गरेको थियो ।

भारतले चाहेजस्तो कम्फर्टेबल समीकरण भत्किएको छ । कूटनीतिक क्षेत्रका जानकारहरु भन्छन्– ‘नेपालमा सत्ता समीकरण फेरिँदा भारत स्तब्ध भएको हुनुपर्छ । यस्तो समीकरण बनोस् भनेर भारत कुनै हालतमा पनि चाहँदैनथ्यो ।’

केही दिन अघि देखि नै नेपालमा सञ्चालित भारत समर्थक केही मिडियाले समीकरण फेर्न चिनियाँ राजदूतले दौडधुप गरिरहेको उल्लेख गरेका थिए । आगामी दिनमा भारतीय मिडियाले सत्ता समीकरण फेरिनुमा चिनियाँ भूमिका भएको भन्दै हल्लाखल्ला गर्ने आधार तयार भइसकेको छ ।

विश्व राजनीतिमा भारत क्रमश अमेरिकी ध्रुवमा ढल्कँदै गए पनि उहाँले अवसरवादी र पिपलपाते भूमिका निर्वाह गरिरहेको भन्दै आलोचना हुने गरेको छ । छिमेकीलाई हेप्ने, समान स्तरकासँग मिल्ने र शक्तिशालीसँग झुक्ने भारतीय नीति रहँदै आएको छ । नेपालमा मामिलामा अमेरिकासँग मिलेर चीनलाई आउट गर्ने भारतीय नीति देखिँदै आएको छ । नेपालमा चीनले कुनै पनि ढंगले लगानी गर्न नपाओस्, नेपालको जलस्रोतदेखि सबै क्षेत्रमा चीनलाई पाखा लगाउने भारतको रणनीति रहँदै आएको छ । यो काममा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई वाध्य पार्दै आएको जगजाहेर थियो । अन्तिममा प्रचण्डले कांग्रेसलाई नै सरकारबाट हटाइदिनुभएको छ ।

जानकारहरु भन्छन्– प्रचण्डलाई भारतले मुख्यमन्त्रीको भन्दा तल्लो दर्जाको व्यवहार गर्दै आएको थियो । प्रचण्ड र कांग्रेसको गठवन्धन बन्नमा भारतको भूमिका लुकेको छैन । आफ्नो प्रभाव र पहलमा सरकार बनेको हुनाले आफूले जसो भन्यो त्यसै हुनुपर्छ भन्ने भारतको धारणा देखिन्थ्यो । भारतीय पेलाई प्रचण्डले एक हदसम्म सहनुभयो तर भारतले सीमा पार गरेपछि गठवन्धन नै टुटाउने अवस्थामा प्रचण्ड पुग्नुभयो ।

भारतले अब नयाँ समीकरण फुटाउन प्रयास गर्ने नै छ, त्यसबाहेक समीकरण असफल बनाउन अनेक प्रयास गर्ने आकलन गरिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !