३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धनको प्रभावले प्रदेशमा हलचल, मन्त्रीहरुलाई सरकारबाट हटाउँदै मुख्यमन्त्री

प्रकाशित मिति :  २२ फाल्गुन २०८०, मंगलवार ११:५६


काठमाडौं । केन्द्र सरकारको सत्ता गठबन्धन परिवर्तन भएर नयाँ सरकार बन्दै गर्दा प्रदेशहरुमा यसको प्रत्यक्ष असर देखिन थालेको छ ।

प्रदेश सभाको अंकगणित अनुसार मुख्यमन्त्रीहरुले नयाँ गठबन्धनमा सहभागी दलका प्रतिनिधिहरुलाई सरकारबाट धामधम हटाउन थालेका छन् । केही प्रदेशमा मुख्यमन्त्रीकै राजिनामा माग्न थालिएको छ ।

सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माल बर्खास्तमा परेका छन् ।

मुख्यमन्त्री शाहले केन्द्रको सत्ता गठबन्धन परिवर्तन भएअनुसार नै आफूले मन्त्रीहरु हटाएको आज सम्वाददाताहरुसँग बताउनुभयो । खाली भएका मन्त्रालय उहाँले आफैं जिम्मा लिनुभएको छ ।

सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार बनेको थियो ।

गण्डकी

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । आज बिहान उहाँले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैंले राखेका छन् ।

६० सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)को २२ र नेकपा (माओवादी केन्द्र) का आठ गरी ३० सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ ।

कर्णालीको कथा

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उहाँहरुले आजै केहीबेर अघि पत्रकार सम्मेलन गरेर राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् ।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

कोशी प्रदेश

कोशी प्रदेशमा पनि केन्द्रको गठबन्धन परिवर्तनको असर देखिन थालेको छ । एमाले र माओवादीका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीको राजिनामा माग्न थालेका छन् । तर त्यहाँ अहिलेसम्म कसैको राजिनामा आउने र सरकार छाड्ने निर्णय गरेको खबर प्रकाशमा आएको छैन् ।

मुख्यमन्त्री कार्की नेपाली कांग्रेसलाई प्रतिधित्व गर्छन् । मुख्यमन्त्री कार्कीले केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भए पनि आफू नेतृत्वको सरकारलाई असर नगर्ने बताउनुभएको छ ।

सरकार गठनको अन्तिम विकल्पका आधारमा आफू मुख्यमन्त्री बनेको स्पष्ट पार्दै कार्कीले संवैधानिक रुपमा यो सरकार नै रहिरहने दावी पनि गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !