२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मलाई कांग्रेसबाट हुनुपर्ने जति सहयोग भएन- प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०८:३९


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका रुपमा आफूलाई नेपाली कांग्रेसबाट हुनुपर्ने जति सहयोग नभएको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट सहयोग नभएकै कारण राजनीतिक समीकरण फेरेको बताउनुभयो । उहाँले भन्नुभयो – ’एक वर्ष कार्यकाल पूरा भएपछिको सम्बोधनमा मैले आशा जगाउन नसके पद नओगटिरहने भनेको थिएँ, म संकेत साथीहरुले व्यक्तिका रुपमा त माया गर्नुभयो, तर परिवर्तन, सुशासन, समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रुपमा मलाई जति न्याय गर्नुपर्थ्यो त्यति गर्नुभएन ।’

सरकारको गतिसँग असन्तुष्ट छु भन्दा पनि कांग्रेसबाट सहयोग नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गर्न आफूले नचाहेको र नयाँ गठबन्धन बनाएको बताउनुभयो ।

तदर्थ सरकार चलाएर पदको रक्षा गर्ने कि, पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धता अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्ने दुई विकल्प रहेकोमा आफूले दोस्रो विकल्प रोजेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । दोस्रो विकल्प रोज्ने क्रममा देखिएका घटनाक्रमले कति जोखिमपूर्ण थियो र छ भन्ने कुरा देखाएका समेत उहाँले बताउनुभयो ।

नयाँ गठबन्धन कति परिणामुखि हुनेछ भन्ने कुरा विश्वासको मत लिने बेलासम्म प्रमाणित हुने समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यो गठबन्धन सरकारले परिणाम दिन सकेन भने यसको औचित्य हुँदैन भनेर आजै बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकमा मन्त्रीहरुसँग भनेको बताउनुभयो ।

कांग्रेस बैठकको धारणा राजनीतिक धारणा भएको भन्दै उहाँले आफूसँग हुँदा इमान अर्काेसँग हुँदा बेइमान हुने कुरा न्यायोचित नभएको बताउनुभयो ।

गत चुनावमा माओवादीले सहयोग गरेको तर कांग्रेसले राष्ट्रिय सभा चुनावमा अन्तरघात गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो – ’माओवादीले गत चुनावमा जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन, त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो, एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै ग¥यो, गठबन्धनको नैतिकताको कसीमा त्यो विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत, राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै ग¥यो ।’

कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गर्नेदेखि आफ्नो मानमर्दन गरेको समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ’कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका जनाउन सक्ने जमिन तयार ग¥यो’– उहाँले भन्नुभयो ।

महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र नभइ दानवीकरण नै गरिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो – ’०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो, यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरिएपनि प्रधानमन्त्री नफेरिएको र त्यस प्रधानमन्त्रीलाई सबै दलको विश्वासको मत रहेको बताउनुभयो ।

कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो । संकटमा साथ दिएको भन्दै उहाँले नेकपा एमाले, एकीकृत समाजवादी, जसपा र रास्वपालाई उहाँले धन्यवाद दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !