५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेको गठबन्धन कुनै स्वार्थ र अवसरका लागि बनेको हैन – विष्णु पौडेल

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०९:१८


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद् विष्णु पौडेलले नयाँ गठबन्धनबीचको सहयात्रा प्रतिनिधि सभाको कार्यकालभर चल्ने बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् पौडेलले यसो बताउनु भएको हो ।

एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र रास्वपाबीचको सहकार्य कुनै स्वार्थ र अवसरका लागि नभएको उहाँले बताउनुभयो ।

सांसद् पौडेलले भन्नुभयो – ’इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन स्प्रिङजस्तो घुम्छ, लाग्दो हो यहाँहरुलाई हिजो जे भयो केही समयपछि हामी त्यस्तै गर्छाैं भनेर त्यो आशा नगरे हुन्छ, अहिले सुरु भएको नयाँ सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ, यो कुनै स्वार्थको लेनदेनमा आधारित, अवसरका निम्ति गरिएको सहयात्रा होइन, जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा सुरु भएको सहयात्रा हो ।’

विगतका अनुभवबाट शिक्षा लिएर सुरु गरिएकाले यो सहयात्रा दुर्घटनामा नपर्ने विश्वास समेत सांसद् पौडेलले व्यक्त गर्नुभयो । ’यो विगतका अनुभवबाट यथेष्ट रुपमा शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो, दुर्घटनामा पर्छ कि भन्ने आशंका र परोस् भनेर कसैले अपेक्षा नगरे हुन्छ, मलाई विश्वास छ यो सहयात्राले बाँकी कार्यकाल पूरा गर्नेछ, देश र जनताको पक्षमा काम गरेर यो सहयात्राको औचित्य पुष्टि हुनेछ ।’

सत्ता र प्रतिपक्षबीचको सम्बन्धबारे संविधान, कानुन र हाम्रा अभ्यासहरुले परिभाषित गरेको स्मरण गराउँदै उहाँले सरकारले देश र जनताका पक्षमा काम गर्नुपर्ने र प्रतिपक्षले पनि रचनात्मक सहयोग गर्नुपर्ने बताउनुभयो । सरकारलाई जनता र राष्ट्रका पक्षका दृढतापूर्वक काम गर्न सुझाव सांसद् पौडेलले सुझाव दिनुभयो । सरकारको आलोचना गर्ने प्रतिपक्षको अधिकारमा संकुचन हुनु नहुनेतर्फ पनि उहाँले सरकारलाई सुझाव दिनुभयो ।

सरकारले गरेका राम्रा काममा रचनात्मक सहयोग गर्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।

देशको अर्थतन्त्रलाई ठिक बाटोमा फर्काउने अभिभारा सरकार सामु रहेको उहाँले बताउनुभयो । देशको अर्थतन्त्र मन्दीको अवस्थामा रहेको तर यसअघिका अर्थमन्त्रीले कहिल्यैपनि त्यो कुरा नभनेको बताउनुभयो । अर्थमन्त्री आँकडा सच्याउनेतिर मात्रै लाग्नुभएको बताउ।नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !