२१ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए पार्टीमा निवेदन

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ०८:१४


विराटनगर । दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् ।

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरुले बताएका छन् ।

बुबाको निधनपछि उनले अब आफू पनि राजनीतिमा आउने संकेत गर्दै बुबाको सपना साकार पार्न लागिपर्ने बताएका थिए ।

कानुन अध्ययन गरेका सुहाङ कानुन व्यवसायमा केही समयदेखि सक्रिय छन् ।

एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो ।

सम्भावित उम्मेदवारको नाम कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा बनाइएको कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम सदस्य छन् ।

कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको सचिव गुरुङले जानकारी दिए ।

उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो ।

गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !