२२ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी’

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०२:५८


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताउनुभएको छ ।

सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र
भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘मौलिक चाडवाडको संरक्षण र संवद्र्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भन्नुभएको छ ।

यस्तै, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पनि शेर्पा समुदायको विशेष चाड ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै समस्त शेर्पा समुदायलाई शुभकामना दिनुभएको छ । सन्देशमा अर्यालले नयाँ वर्ष आरम्भको रुपमा मनाइने पर्वले नेपालका समस्त जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन विशिष्ट योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !