२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रांगारिक मल कारखाना खोल्ने विषयलाई प्राथमिकता दिऔं -प्रमुख सचेतक भगवति न्यौपाने

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०८:४६


काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको प्रमुख सचेतक भगवति न्यौपानेले आईडिया बैंक स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्षको विनियोजन विधेयक २०८१–८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले तत्काल एउटा आईडिया बैंक स्थापना गरेर विज्ञहरुको आईडिया लिएर विकास र समृद्धिमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

पूर्वाधारको विकास कसरी गर्न सकिन्छ, शिक्षालाई कसरी गुणस्तर बनाउन सकिन्छ, स्वास्थ्यमा कसरी विकास गर्न सकिन्छ भन्नेमा सरकारले ढिला गर्न नहुने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । ’मैले एउटा सुझाव राखेको थिएँ केही वर्षअघि एउटा आईडिया बैंकको स्थापना गरौं, त्यसमा विज्ञहरुका सुझाव र आईडियाहरु संकलन गरौं, त्यसकारण म जोड लिएर भन्न चाहान्छु एउटा आईडिया बैंक स्थापना गरौं’–उहाँले संसदमा भन्नुभयो ।

देशको अर्थतन्त्र मन्दीको अवस्थामा रहेको भन्दै उहाँले यो अवस्था सुधारका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

देशको अर्थतन्त्रलाई मजबुद बनाउने उपायतर्फ सरकारले ध्यान दिनुपर्ने प्रमुख सचेतक न्यौपानेको भनाई थियो । देशको अर्थतन्त्रलाई समृद्ध बनाउन समस्या पहिचान गरेर समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

जमिनको व्यवस्थापन धेरै महत्वपूर्ण विषय भएको भन्दै उहाँले नेपालमा सही ढंगले जमिनको व्यवस्थापन हुन नसकेको कुरा बताउनु भयो ।

प्रमुख सचेतक न्यौपानेले भन्नुभयो – ’भद्रगोल तरिकाले जमिनको व्यवस्थापन भएको छ, जसले जसरी पनि प्रयोग गर्न पाउने, जसले जहाँ घर बनाउन पनि पाउने, जसले जहाँ घडेरी किन्न पनि पाउने यस्तो खालको अव्यवस्थित ढंगले जमिनको व्यवस्थापन हुँदा समृद्धि सम्भव छैन, त्यसैले अबको बहस हामीले जमिनलाई सही ढंगले कसरी व्यवस्थापन गर्ने भन्नेमा हुनुपर्छ ।’

अपार्टमेन्टमा बस्नेहरुलाई सहुलियतपुर्ण ऋणको व्यवस्था गर्नुपर्ने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो ।

प्रारंगरिक मलको कारखाना खोल्ने कुरालाई प्राथमिकता दिन उहाँले सरकारलाई सुझाव दिनुभयो ।

उत्पादन बढाउन सरकारले सिंचाइ सुविधाको विषयमा ध्यान दिनुपर्ने भन्दै उहाँले नेपालमा रहेका नदीहरुको प्रयोग गरेर सिंचाइ सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

नेपालका विद्यार्थीहरु गुणस्तरीय विश्वविद्यालय खोज्दै विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । नेपालको विश्वविद्यालयमा नै गुणस्तरीय र रोजगार मुलक शिक्षा दिनेबारेमा विद्यार्थीलाई विश्वस्त तुल्याउनुपर्ने र रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !