२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जानेः केपी शर्मा ओली

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार ११:२३


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको छ ।

मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा उहाँले ह्विपकै रुपमा आफ्नो निर्देशन मानेर सबै सांसदलाई दाहाललाई विश्वासको मत दिन निर्देश दिनुभयो ।

उहाँले दाहाललाई विश्वासको मत नदिए देश ठूलो दुर्घटनामा जाने समेत जिकिर गर्नुभयो । प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको भन्दै उहाँले सबैलाई विश्वासको मत दिन ह्विप लगाउनुभयो ।

नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प होकि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

ओलीले भन्नुभयो, ‘अहिलेको यो परिवर्तन सकारात्मक छ । यसैलाई अगाडि बढाउनुपर्छ । यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । एमालेका लागि यो बेस्ट अप्सन होकि होइन भन्ने कुरा छोडिदिउँ, यतिबेला अर्को कुनै विकल्प छैन् । कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा तीन अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको सरकार बन्छ । दुइवटा मध्ये एउटा कुरा हुन्छ ।’

उहाँले कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्ने भन्दै थपे, ‘हामी सबै उत्साहको साथ मतदान गर्नेछांै । कमरेडहरुलाई निर्देशन नै हो,’ ओलीले भन्नुभयो । नयाँ सत्तासमीकरण सरकारमा जाने हतारोले नबनेको बताएका उहाँले तत्कालिन गठबन्धन ‘खरानीको डल्लो’ भएको र त्यसलाई आफुले फुटाइदिएको बताउनुभयो ।

‘गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो,’ उहाँले भन्नुभयो । ओलीले सरकार परिवर्तन एमालेले नै गरेको र जस पनि आफैंले पाउनुपर्ने भन्दै उक्त विषयमा चीनलाई बीचमा नल्याउन आग्रह गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !