११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार ०७:५६


काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापा, बिर्तामोड नगरपालिका–चार स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम सात सय २० मिलिग्राम र नगद आठ हजार दुई सय २५ रूपैयाँसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका–नौ प्रणामी टोल बस्ने २४ वर्षीय अनुप भट्टराई र पाँचथर फिदिम नगरपालिका घर भई झापा बिर्तामोड नगरपालिका–तीन बस्ने २७ वर्षीया सन्जु राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उहाँहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका–तीन बेलडाँगीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम र नगद सात हजार आठ सय २० रूपैयाँसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सबहादुर लिम्बु सुब्बा र सोही नगरपालिका–दुई बस्ने २७ वर्षीय मनाङ लिम्बु रहेका छन् ।

प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीले सबहादुरको कोठाको जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित दमक नगरपालिका–पाँच पारुहाङ टोल बस्ने ३५ वर्षीय सुबास बानियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधनियन्त्रण व्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उहाँलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका–आठ लिंकरोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट तीन ट्याबलेटसहित सोही महानगरपालिका–१५ बस्ने २५ वर्षीय सुशिल कुमार सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले उहाँलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, मधुवन नगरपालिका–६ बस्ने २० वर्षीय सुवास सुनार समेत दुई जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ दुई ग्राम पाँच सय ५० मिलिग्रामसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उहाँलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–नौ बाट अवैध लागूऔषषध ब्राउनसुगर एक ग्राम ६ सय ७० मिलिग्रामसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१० बस्ने २४ वर्षीय मोहमद अस्लाम र ३३ वर्षीय नबराज खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उहाँहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका–एक बसन्तपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ दुई ग्राम दुई सय ३० मिलिग्रामसहित बझाङ केदारस्यु गाउँपालिका–सात बस्ने ३८ वर्षीय खडक धामी समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उहाँहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !