४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चालु आर्थिक वर्षको बजेट पूर्णरुपमा असफल भएको छ -विष्णु पौडेल

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ११:०३


काठमाडौं । प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले अघिल्लो गठबन्धन सरकारले ल्याएको सरकारको बजेटका सिद्धान्त र प्राथमिकता देशलाई निकास दिने खालको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले सिद्धान्त र प्राथमिकताको पुनर्लेखन गर्नुपर्ने बताउनुभयो । त्यसले पनि प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुको औचित्य पुष्टि गरेको उहाँको धारणा छ । ‘यसमा न सिद्धान्त छ, न प्राथमिकता छ, यसमा केही पनि छैन, यो यसमा केवल शब्द र वाक्यको भिड मात्र छ’, उहाँले भन्नुभयो ।

प्रतिनिधि सभामा प्रस्तुत भएको सिद्धान्त र प्राथमिकताले देशको समस्या चिन्नको लागि कुनै दृष्टिकोण नदिने उहाँले बताउनुभयो । ‘सिद्धान्त र प्राथमिकताका रूपमा यो आएको छैन’, उहाँले भन्नुभयो ।

आगामी वर्षको बजेट बनाउन प्राथमिकता र सिद्धान्तको पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकारको प्राथमिकता र सिद्धान्त पुनर्लेखन गर्न अर्थ मन्त्रीलाई सुझाव दिनुभयो ।

अर्थतन्त्रका सम्भावनालाई सम्बोधन गर्न समेत निवर्तमान अर्थमन्त्रीले ल्याउनु भएको प्राथमिकता र सिद्धान्तले नसकेको उहाँले बताउनुभयो । प्राथमिकता र सिद्धान्तले अर्थतन्त्रको सम्भावना र समस्या सम्बोधनको बाटो नदेखेको उहाँको धारणा छ । ‘यो सिद्धान्त र प्राथमिकताले हाम्रो समस्यालाई चिन्न सकेको छैन’, उहाँले भन्नुभयो ।

निवर्तमान अर्थ मन्त्रीले निर्माण गर्नुभएको चालु आर्थिक वर्षको बजेट पनि पूर्णरुपमा असफल भएको पौडेलले बताउनुभयो । ‘चालु आर्थिक वर्षको बजेट सम्पूर्ण रूपमा असफल छ, यो बजेट असफल छ भन्ने कुरा तथ्यले, प्रमाणले देखाएको छ’, उहाँले भन्नुभयो ।

यो चालु वर्षको बजेट असफल भएपछि त्यसबाट पाठ सिकेर बजेटको सिद्धान्त र प्राथमिकता बनाउनु पर्नेमा निवर्तमान अर्थमन्त्री उल्टो बाटो हिँड्नु भएको उहाँले बताउनुभयो । लगातार अर्थतन्त्र मन्दी हुँदा पनि निवर्तमान अर्थमन्त्रीले देश र जनतालाई गुमराहमा राख्ने काम गर्नुभएको उहाँले टिप्पणी गर्नुभयो । देश र संसद्लाई गुमराहमा राख्ने अपराध कर्म निवर्तमान अर्थ मन्त्रीले गर्नुभएको पौडेलले बताउनुभयो


0
Shares

प्रतिक्रिया दिनुहोस !