४ माघ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कोशीमा मुख्यमन्त्री कार्कीले पद नछाडे एमाले कानुनी उपचारको बाटोमा जाने

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १५:४१


काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले पद नछाडेपछि नेकपा एमाले कानुनी उपचारको बाटोमा जाने भएको छ ।

शुक्रबार संसदीय पत्रकार मञ्च कोशीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले बाटो खाली नगरे एमाले कानुनी उपचारको प्रक्रियामा जाने बताउनुभयो । उहाँले वर्तमान मुख्यमन्त्री अल्पमतमा परिसकेकोले बाटो खालि गरिदिनु नै राम्रो विकल्प भएको बताउनुभयो ।

तत्काल पदबाट राजीनामा गरेर राजनीतिक निकास दिन उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । ‘यो सरकार राजनीतिक हिसाबले अल्पमतमा परिसक्यो, अहिले नै राजीनामा दिँदा हुन्छ’, उहाँले भन्नुभयो ।

मुख्यमन्त्रीले राजीनामा नदिए विश्वासको मत लिएर देखाउनुपर्ने भण्डारीले बताउनुभयो । ‘प्रक्रियामा पनि नगएर जबरजस्ती गर्न खोज्नु भयो भने संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश, कानुन बमोजिम उहाँलाई हटाउँछौँ’, भण्डारीले भन्नुभयो ।

कोशी प्रदेशमा कार्की राजनीतिक दलको तर्फबाट नभई प्रदेश सभामा बहुमत पुर्‍याउन सक्ने सांसदको हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो । आफू दलबाट मुख्यमन्त्री नबनेकोले राजनीतिक समीकरण बदलिँदैमा आफ्नो सरकार अल्पमतमा नपर्ने र विश्वासको मत पनि लिनु नपर्ने दाबी कार्कीले गर्दै आउनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !